काठमाडौं । लुम्बिनी प्रदेशकी प्रदेश सांसद सुमन शर्मा रायमाझीको सांसद पद गुमेको छ ।
जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित सांसद रायमाझीसहित चार जनालाई पार्टीले यसअघि नै कारबाही गरे पनि पुर्नवहालीको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी (जसपा)ले दल त्यागको कारवाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र पठाएपछि सभामुखले गत वैशाख १६ गते सूचना टाँसेर उपदमुक्त गरेको जानकारी पनि गराएका थिए ।
त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगे । सांसदहरुमाथि कारवाही गर्दा प्रक्रिया पूरा नभएको भन्दै अल्पकालिन अन्तरिम आदेशमार्फत सर्वोच्चले रोक्यो । न्यायाधीश नहकुल सुवेदीको इजलासले उनीहरुको सांसद पद जोगाएका थिए ।
तर लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्रीसमेत रहेकी सांसद रायमाझीले सर्वोच्चमा विचाराधिन मुद्दाको तारिख गुजारेका कारण पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको छ । अब मन्त्री रायमाझी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउनेछिन् ।
सर्वोच्च अदालतको अभिलेख अनुसार उनले १७ भदौ २०७८ को तारिख टुटाएकी थिइन् । त्यसपछि उनले वेवास्ता गरेपछि सर्वोच्चले मुद्दा नै तामेलीमा पठाउने आदेश दिएको हो । मुद्दा तामेलीमा पठाइएप्छि पद स्वतः खारेज हुने कानूनी ब्यवस्था छ ।