काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट अनुमोदन गराउन कस्सिएको सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस नयाँ परिस्थितिबारे छलफलमा जुटेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुले एमसीसी अनुमोदन गराउन साथ नदिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजिरहेको छ । तर एमालेले एमसीसीमा साथ दिनका लागि सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने शर्त अघि सारेको छ ।
कांग्रेसका लागि अब एमसीसी फिर्ता पठाउने कि सत्ता गठबन्धन भत्काउने भन्ने दुई वटा विकल्प मात्र रहेको छ । पहिलो विकल्पका लागि कांग्रेस तयार देखिएको छैन । विहीबार मात्रै प्रतिनिधिसभाको बैठक नै स्थगित गरेर दलहरुबीच पटक पटक छलफल भए पनि निकास निस्किन सकेन ।
सत्ता सहयात्री दलहरुसँगको अहिलेसम्मको प्रयास निरर्थक बनेपछि विहीबार बेलुका ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग बालुवाटारमै छलफल गरे ।
गत शनिवार सत्ता गठबन्धनका तीन दलबीच गठबन्धन कायमै राख्नका लागि एमसीसी सदनमा टेबल गर्न मात्रै दिनुपर्ने प्रस्ताव देउवाले राखेपछि पार्टीभित्र र बाहिरबाट आलोचना खेपेर पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार एमसीसी सदनमा टेबल गर्न रोकेनन् । त्यसको अपजस दुवै नेताले सबैतिरबाट अहिले पनि पाइरहेका छन् ।
एमसीसी टेबल भइसकेपछि प्रधानमन्त्री देउवा एमसीसी प्रस्ताव जसरी पनि अनुमोदन गराउन योजनामा लागे । यसका लागि उनी गठबन्धन भत्काएर भए पनि अघि बढ्ने योजनामा छन् । यसैको प्रयासमा देउवाले फकाइरहे पनि एमालेले एमसीसीमा सघाउन खोँचे थापिरहेको छ । देउवा एमसीसी पास गराउनै पर्ने देखिएपछि एमाले अध्यक्ष ओलीले माधव नेपालका १४ सांसदलाई हटाउने सूत्र खोज्दै जाल बिच्छाइरहेका छन् ।
त्यो जालमा देउवा पर्छन् भन्नेमा ओली ढुक्क छन् । ओलीले देउवालाई आफ्नो जालमा पार्न सके भने माओवादी केन्द्रका सभामुख अग्नि सापकोटालाई हटाउने नयाँ खेल सुरु हुनेछ । र, गठबन्धन तोडिनेछ । एमसीसीको जोड घटाउ भन्दा पनि एमालेले गठबन्धन तोडेर आसन्न निर्वाचनमा जाँदा आफू दोस्रो ठूलो पार्टी बन्ने विश्वास लिएको छ ।
गठबन्धन भत्काउने यो उपयुक्त अवसर भएकै कारण एमालेले आफ्ना कार्यकर्तालाई एमसीसीविरुद्धमा सडकमा समेत आउन दिएको छैन । ओलीले यसअघि आफू प्रधानमन्त्री भएकाबेला पनि एमसीसी संसदमा टेबल गर्ने प्रयास गरेका थिए । त्यतिबेला उनले सडकमा भएको बिरोधलाई ब्यङग्य गर्दै एमसीसी नपढेकाहरुले विरोध गरेको समेत भन्न भ्याएका थिए ।
एमसीसी जसरी पनि संसदबाट अनुमोदन गराउने निश्कर्षमा पुगेका देउवाले नयाँ समिकरण बनाउनेबारेमा पार्टीभित्र छलफल शुरु गरेका छन् । कांग्रेस एमसीसी प्रस्ताव सदनमा सामान्य छलफल गरी मत विभाजन नगरी पास गर्ने योजनामा छ ।
बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय परम्परा र अभ्यासमा सरकारले ल्याएको प्रस्ताव, सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा नरहेको बताए ।