Media Network

सहमतिमा नेतृत्व छान्न माओवादी असफल, अध्यक्षसहित पदाधिकारीका लागि चुनाव हुँदै


खबरस्टोरी संवाददाता

५ पुष २०७८,सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सहमतिकै माध्यमबाट नेतृत्व र पदाधिकारी चयन गर्न निर्देशन दिएको भएतापनि यी दुईवटा प्रदेशमा भने कसैको नाममा पनि सहमति जुट्न सकेन । सहमति हुन नसकेपछि अब यी दुईवटा प्रदेशमा चुनावमार्फत नेतृत्व चयन हुने भएको छ । यसमा अध्यक्ष प्रचण्डले पनि चुनावमार्फत भए पनि नेतृत्व चयन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

गत मंसिर २५ र २६ गते विराटनगरमा प्रदेश १ को अधिवेशन भएको थियो । प्रदेश अध्यक्षसहित पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन । अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे तापनि पदाधिकारी भने सहमतिमार्फत चयन हुन नसकेको हो । प्रदेश अध्यक्षमा ६ जनाको दाबी परेको छ, तर सर्वसम्मत हुन नसकेपछि अब चुनावमा गएर टुंगाे लगाइने भएकाे छ ।

यस्तै बाग्मती प्रदेशमा मंसिर २५ मा सम्मपन्न अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको छ । तर प्रदेश अध्यक्ष र पदाधिकारीहरुको भने टुंगो लाग्न सकेको छैन । यसमा पनि सर्वसम्मतिका प्रयासहरु असफल भएपछि अब चुनावमार्फत नै नेतृत्व र पदाधिकारी चयन हुने भएको छ ।

बागमती प्रदेश नेतृत्व चयन गर्न आजै चुनावी प्रक्रिया सुरू हुँदैछ । स्राेतका अनुसार बिहान ११ बजे काठमाडाैमा रहेकाे अनुपम फुडल्यान्डमा बाग्मती प्रदेश नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुन लागेकाे हाे । 

वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतम र भक्तपुरका डिपी ढकालको दावी रहेको छ । यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि उनी सो दौडबाट बाहिर रहेको बताइएको छ ।


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद