Media Network

सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८२,बिहीबार

काठमाडौं । भिजिट भिषा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ६ जना र दुई वटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ७ चैत  २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेकाअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रीन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रअनुसार प्रतिवादीहरुले २५७ जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी छ । भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत प्रवक्ता लामिछानेले जानकारी दिए ।

उक्त प्रकरणमा उच्च पदस्थ अधिकारीको संलग्नतामाथि छुट्टै अनुसन्धान गरिरहेको पनि अख्तियारले जनाएको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टको अध्यागमन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसँग अस्वभाविक सम्बन्ध रहेको भेटिएको भन्दै गैरकानुनी लेनदेन समेत भएको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद