धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुश प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए । यसैगरी काठमाडाैमा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २ः३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन् ।
सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र थप कडाइका साथ प्रदर्शन गर्ने बाराका दामोदर मैनालीले बताए । उनले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।
सर्वोच्चको अविवेकी फैसलाको पुर्विचार हुनुपर्ने भन्दै मैनालीले यदि जनताको माग नसुने थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । त्यसैगरी, निजगढ सरोकार समितिले पनि अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न आज समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बैठकको निर्णयअनुसार आन्दोलन गरिने बताए । समितिले यसअघि पनि विमानस्थलन निर्माणको माग गर्दै निजगढमा दबाबमूलक आन्दोलनको कार्यक्रम संचालन गर्दै आएको थियो ।
विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ जेठ मंगलवार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्ने निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिए ।