काठमाडौं। नेपाली कांग्रेसले बिहीबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन भनेको हो।
संसदीय दलकी सचेतक पुष्पा भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् । ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा छन् । कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।