काठमाडौं । भदौ २३ का नवयुवाको प्रदर्शनमा ज्यान गुमाएका २२ वर्षीय सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा संसद छिर्ने तयारीमा छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रचनालाई प्रतिनिधिसभा सदस्य अन्तर्गत समानपातिक उम्मेदवार बनाएको थियो । समानुपातिकतर्फ ११० सदस्य प्रतिनिधिसभा सदस्यमा रास्वपाले ५७ सिट पाएको थियो । रास्वपाले पाएको ५७ सिटमा रचना सांसद बनेकी हुन् ।
भदौ २३ गते नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रहरीको गोली लागेर रसिकको मृत्यु भएको हो । उक्त दिन रसिकसहित १९ जनाले ज्यान गुमाएका थिए । छोराको मृत्यु भएपछि रचना न्यायका लागि सडकमा आइन् । आज रास्वपाबाट संसदको ढोका खुलेपछि उनी रसिक र रसिकजस्तै ज्यान गुमाएका नवयुवाहरुको न्यायको निम्ति लड्ने प्रण गरेकी छन् ।
भदौ २३ गते गोली चलाउन आदेश दिने प्रहरी प्रमुखमात्र होइन, काठमाडौंका सिडियोदेखि तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई समेत कारबाही हुनुपर्ने माग गर्दै आइरहेकी छन् । अब संसदकै ढोका खुलेपछि उनले अब संसदबाटै नवयुवाहरुको न्यायको लागि लड्ने भएकी छन् ।
यो पहिलो राजनीतिक यात्रा अघि बढाएकी ४६ वर्षकी रचना यसअघि एक गृहिणी मात्र थिइन् । अब भने जनताको प्रतिनिधि बनेकी रचना काठमाडौंबासी हुन् ।
काठमाडौंको चन्द्रगिरि नगरपालिकाको नैकापमा जन्मिएकी रचनाको १६ वर्षकै उमेरमा काभ्रेको पनौती नगरपालिका–१० का पुरूषोत्तम खतिवडासँग विवाह भयो । पुरूषोत्तम नेपाल टेलिकममा काम गर्छन् । माइतकी जेठी छोरी रचनाको एक बहिनी र एक भाइ छन् ।
छोरा रसिद र छोरीलाई हुर्काउँदै रचना दम्पत्तिले काठमाडौंको टेकुमा जग्गा किनेर आठ वर्षअघिदेखि त्यहीँ घर बनाएर बसेका थिए । केही वर्षअघि उनकी जेठी छोरी अस्ट्रेलिया गएकी हुन् । छोरा रसिकलाई पनि अष्टे«ेलिया नै जाने तयारीमा थिए । तर भदौ २३ गते कहिल्यै अष्ट्रेलिया नजाने गरि बिदा भए ।
युवा पुस्ताको आन्दोलनपछि जेनजीको विभिन्न समूह सडकदेखि राष्ट्रपति कार्यालयसम्म धाइरहँदा रचना परिवार भने जेनजी सहिद परिवार संघर्ष समितिबाट आन्दोलनमा उत्रिएकी थिइन् ।