काठमाडौं । संसदमा आइतबार पेश गरिएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रस्तावमाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ ।
एमसीसीविरुद्ध देशब्यापी आन्दोलन भइरहँदा र संसदभित्र पनि अवरोधकाबीच आइतबार एमसीसीको प्रस्ताव संसदमा पेश गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पेश गर्ने संसदको कार्यसूची रहेपनि मन्त्री शर्मा बैठकमै अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेश गरेका थिए ।
प्रतिनिधिसभाको आजको वैठकमा पनि अर्थमन्त्री शर्माले एमसीसी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची संसद सचिवालयले मंगलबार नै सार्वजनिक गरेको छ । तर मन्त्री शर्मा भने एमसीसी छल्न यसअघि आफैले स्थगित गरेको कार्यक्रममा भाग लिन मंगलबार नै पर्वत पुगेका छन् ।
सत्ता गठबन्धन दलहरुले गठबन्धन जोगाइराख्न एमसीसी संसदमा टेबल गर्न दिए पनि मतदानमा एमसीसीको विपक्षमा रहने बताएका छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस एमसीसी जसरी पनि अनुमोदन गर्ने पक्षमा रहेको छ भने जनता समाजवादी पार्टी (जसपा)को सत्ताको डा.बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा खुलेर लागेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी पास गर्न सत्ता गठबन्धनका दलहरुले साथ नदिने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजिरहेका छन् । जसका लागि उनी एमाले अध्यक्ष केपी ओलीसहित एमाले नेताहरुसँग निरन्तर संवादमा छन् ।
अहिलेसम्म संसदमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै एमसीसीका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ । लोसपाको संसदमा १३ सांसद छन् ।