Media Network

९९ सिट राखेर तालमेल गर्न कांग्रेसमा दबाब, बाम एकताबारे अर्कातिर छलफल


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला कांग्रस नेताहरूले कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन । 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ । 

माओवादी र एकीकृत समाजवादीको एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरूबीच गठबन्धन गराउने कसरतमा रहेको चर्चा छ । उनीहरूले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरूसँग अनौपचारिक संवाद चलाइरहेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हालसम्म यही गठबन्धनको पक्षमा छन् तर उनीहरूले पनि पार्टीभित्रका फरक धारलाई सम्हाल्न सिट तालमेललाई रणनीतिक रूपमा उपयोग गर्न सक्ने कांग्रेस नेताहरूको आशंका छ । 

गठबन्धनलाई अनिवार्य आवश्यकता ठान्दै आएका देउवाले ‘सिट’ मा सम्झौता गर्न सक्ने भन्दै पार्टीका अधिकांश नेताले सय सिटभन्दा तल नझर्न उनलाई सुझाइरहेका छन् । गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी आन्तरिक कलहमा फसेकाले सिट तालमेलको विषयमा प्रवेश गर्नै सकेको छैन । एकीकृत समाजवादीपछि जसपामा मन्त्री फेरबदलको विषय चर्किएको छ ।

कांग्रेस नेताहरूले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ६० प्रतिशत अर्थात् ९९ सिटभन्दा तल झरेर तालमेल नगर्न देउवालाई दबाब दिइरहेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद