स्थानीय तहको निर्वाचन आउन अब २४ दिन मात्र बाँकी छ । तालमेल गरेर निर्वाचनमा जाने भएका दलहरुलाई भागबण्डा मिलाउन सकस भइरहेको छ । ६ महानगर र ११ उपमहानगरमा केन्द्रबाट नै भागबण्डा मिलाउने प्रयास स्वरुप मंगलबार पुनः शीर्ष नेताहरुबीच छलफल हुँदैछ ।
पाँच दलबीच सिट भागवण्डा मिलाउने अन्तिम कसरत स्वरुप मंगलबार बैठक बोलाइएको छ । मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक भने दिउँसाे २ बजेलाई सारिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबार दुई दुई पटक बसेको बैठक अनिर्णित बनेको थियो ।
सोमवारको बैठकमा पाँच महानगरमा मोटामोटी सहमति बने पनि पोखरा महानगरपालिकामा सहमति हुन सकेन । पोखरामा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मेयरमा आफ्नो दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।
काठमाडौ, ललितपुर, विराटनगर र पोखरामा पनि कांग्रेसले मेयरसहितको उम्मेवारमा अडान राखेको छ । एकीकृत समाजवादीले भने अघिल्लो स्थानीय निर्वाचनमा एमालेले जितेको हुँदा आफूहरुको पकड राम्रो रहेको दाबी गरेको छ ।
यसैबीच, एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पोखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।
बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने मन्त्री कार्कीले बताए ।