काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट पारित गर्न कस्सिरहेकाबेला सत्ता गठबन्धनकै दल भने एमसीसीविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ ।
पाँच दलीय सत्ता गठबन्धन भित्रको नेकपा (मसाल) एमसीसीविरुद्ध सडक आन्दोलनमा उत्रिएको हो ।
प्रधानमन्त्री देउवा र सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार बालुवाटारमा एमसीसीबारे छलफल गरिरहँदा नेकपा मसाल भने संसदबाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यालयमा एमसीसीविरुद्धको सडक आन्दोलनको खाका कोरिरहेको थियो ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाबाट सरकारमा सहभागी छिन् । बालुवाटारमा एमसीसी पारित गर्नेबारे देउवा, प्रचण्डले ओलीसँग झण्डै दुई घण्टा छलफल गरिरहँदा सिंह र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी चाँही नेकपा महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेकपा अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ र माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीसँग एमसीसीविरोधी आन्दोलनको खाका कोरिरहेका थिए ।
६ कम्युनिस्ट पार्टी र तीनै मध्येका दुई मोर्चाले आइतबार नै एमसीसीविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । माघ २६ गते बस्ने संसदको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी टेवल गर्ने तयारी गरिरहँदा सरकारमै रहेको राष्ट्रिय जनमोर्चा भने सोही दिन एमसीसीविरुद्ध काठमाडौंसहित देशैभर आफ्ना कार्यकर्तालाई सडकमा उतार्दै छ ।
जनमोर्चासहितको ६ कम्युनिस्ट पार्टी तथा मोर्चाले एमसीसीविरुद्ध माघ २५ गते देशैभर कोणसभा र माघ २६ गते देशैभर विरोध प्रदर्शन तथा सभा गर्ने कार्यक्रम तय गरेका छन् ।
सत्ता गठबन्धनमा रहेको अन्य दलहरु भने एमसीसीका पक्षमा लागेको खुलासा भएको छ । एमसीसी संशोधनको कुरा गरिरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत एमसीसी मुख्यालयलाई पत्र लेखि एमसीसी पास गर्ने प्रतिवद्धता जनाएको पत्र सार्वजनिक भएपछि प्रचण्डको द्वैध चरित्र देखिएको भन्दै सवत्र्र आलोचना भइरहेको छ ।
प्रचण्डले पार्टीको महाधिवेशनमा पेश गरेको रानजीतिक दस्तावेजमा समेत एमसीसी संशोधनबिना पास गर्न नसकिने लेखेका थिए । सोही दस्तावेज महाधिवेशले पास गरेको थियो ।