विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भएका थिए । अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ ।
संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ ।
यही जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वामगठन्धनको प्रस्ताव पनि आएको हो । दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ । पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारलाई सोचेजति सहयोग नगरेको विषयमा छलफल भएको नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।