काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि यतिबेला निर्वाचनको लहर सुरु भएको छ ।
२०७४ सालमा तीन चरणमा गरी सम्पन्न भएको स्थानीय तहको निर्वाचन यो पटक एकैपटकमा गर्ने सरकारले घोषणा गरेको छ । तीन चरण मध्ये मधेस प्रदेशमा तेस्रो चरणमा २०७४ असोज २ गते निर्वाचन गरिएको थियो ।
पहिलो र दोस्रो चरणमा भएको निर्वाचनको परिणामले निकै उत्साहित नेकपा एमालेको तत्कालिन २ नम्बर प्रदेशमा भने कमजोर देखिएको थियो । गठबन्धन गरी सरकार बनाएका पाँच दल यसपालीको निर्वाचनमा पनि गठबन्धन नै कायम गरी अघि बढ्ने तयारी गरिरहेका छन् ।
पछिल्लो पटक राष्ट्रियसभाको रिक्त १९ पदका लागि भएको निर्वाचनमा गठबन्धनकै कारण उनीहरुलाई फाइदा भएको छ । त्यसैले गर्दा पनि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस (पार्टीभित्रको केही असन्तुष्टीबाहेक) पनि गठबन्धन मिलेर जाँदा फाइदा देखिरहेको छ ।
निर्वाचनसम्म नै गठबन्धन कायम राख्न भन्दै माओवादी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा समेत सहमति जनाएमा गठबन्धन निर्वाचनमा पनि कायमै रहने निश्चित छ । जसले गर्दा आसन्न निर्वाचनमा नेकपा एमालेलाई एक्ल्याउने र निर्वाचनमा भारी मत ल्याएर सत्तासिन रहिरहने योजना सत्ता गठबन्धन दलहरुको छ ।
मधेस प्रदेशमा यस्तो थियो २०७४ को परिणाम
मधेस प्रदेशमा १ सय ३६ स्थानीय तह मध्ये एक महानगरपालिका, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा नेपाली कांग्रेस सबै भन्दा ठूलो शक्ति बन्यो । कांग्रेसले ३६ प्रमुख र २२ उपप्रमुख जितेको थियो भने माओवादी केन्द्रले १३ प्रमुख र १८ उपप्रमुख जितेको थियो । एमालेले भने १२ प्रमुख र १४ उपप्रमुख जितेको थियो ।
गाउँपालिकामा पनि कांग्रेसले १४ अध्यक्ष र १३ उपाध्यक्ष तथा माओवादी केन्द्रले ८ अध्यक्ष र ६ उपाध्यक्ष जित्दा एमालेले ६ अध्यक्ष र ५ उपाध्यक्षमा चित्त बुझाएको थियो ।
मधेस प्रदेशमा यी दलको मात्र प्रभुत्व छैन । मधेसवादी दल यो प्रदेशमा हावी हुने देखिएको छ । ०७४ को चुनावमा पनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १० प्रमुख, ५ उपप्रमुख, १६ अध्यक्ष र २० उपाध्यक्ष जितेको थियो भने महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीले १४ प्रमुख, १७ उपप्रमुख तथा ११ अध्यक्ष र १३ उपाध्यक्ष जितेको थियो ।
अहिलेको निर्वाचनमा आइपुग्दा भने एमाले सग्लो छैन । माधव नेपाल, झलनाथ खनालहरुले छुट्टै पार्टी बनाएका छन् । माधव नेपालको बारा लगायतका मधेसका जिल्लामा राम्रो पकड मानिन्छ । कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र यादव नेतृत्वको जनता समाजवादी पार्टी मिलेरै चुनाव लड्ने हो भने यो प्रदेशमा एमालेको अवस्था निकै कमजोर हुने देखिन्छ ।