विहीबार सम्पन्न एमाले केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्थानीय तह स्थानीयमा अन्य दलसँग पनि तालमेल वा गठबन्धन गर्न सक्ने निर्णय गरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
स्थानीय आवश्यकताको आधारमा तल्लो कमिटीले आवश्यक महशुस गरेको खण्डमा एक तह माथिल्लो कमिटीको सहमति लिएर स्थानीय तहमा तालमेल गर्न सक्ने निर्णय गरिएको रिमालले बताए ।
एमाले तालमेलको विरोधी र बाम एकताको पनि विरोधी नभएको उनको भनाइ थियो ।
चैत मसान्तसम्म उम्मेदवारको नाम सिफारिस
एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यहि चैत मसान्तभित्रै उम्मेदवारको नाम सिफारिस गर्न पनि निर्देशन दिएको छ ।
प्रत्येक स्थानीय तहमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न एमालेले पार्टी कमिटीलाई निर्देशन दिएको हो । सिफारिस गरिएका नाम त्यसभन्दा माथिल्लो कमिटीको सुझाव लिएर अनुमोदन गरिने पनि रिमालले जानकारी दिए ।
एमालेले स्थानीय तहका उम्मेदवारको छनोट गर्न विभिन्न मापदण्ड पनि बनाएको छ ।