Media Network

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड


खबरस्टोरी संवाददाता

१२ कार्तिक २०७८,शुक्रबार

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले शुक्रवार चितवनमा आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।

उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गरे । दाहालले भने, ‘राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।’

 संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उनले भने, ‘संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए तर व्यवहारमा आएन ।’ आफूहरूले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उनले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोसरूपमा प्रगति हुन नसकेको बताए ।

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बौं लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उनको भनाइ थियो । क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको सन्दर्भमा उनले भने, ‘क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव छैन ।’

 भरतपुर अस्पताल केन्द्रीय अस्पताल भए पनि दरबन्दी र भौतिक पूर्वाधारमा काम हुन नसकेकाले अब यस अस्पताललाई पनि एकीकृत प्रतिष्ठानभित्र राखेर सुविधासम्पन्न र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो । नेपाल आफैंले कोराना विरुद्धको खोप उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने उनले बताए ।

उनले भने, ‘आफ्नै खोप उत्पादन हुनुपर्छ, चितवनमा भए अझ राम्रो ।’

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकरी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल चिकित्सक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा अनिलविक्रम कार्की, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, डा कृष्णसागर शर्मा, डा मधु न्यौपाने, डा आविस्कार चापागाईँलगायतले स्वास्थ्य क्षेत्रका समस्याबारेमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई अवगत गराएका थिए। 

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष नीरा अधिकारीको अध्यक्षतामा भएको थियो । चार दिनदेखि अध्यक्ष दाहाल गृह जिल्ला चितवनमा छन् । उनि जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका छन्  । रासस 



Share:
Reaction :
ताजा समाचार
खेलकुद