१२ दिनमै टुट्यो रवि–कुलमान एकता, कुलमानको समानुपातिक उम्मेदवार चिप्लियो


खबरस्टोरी संवाददाता
२६ पुष २०८२, शनिबार
१२ दिनमै टुट्यो रवि–कुलमान एकता, कुलमानको समानुपातिक उम्मेदवार चिप्लियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी बीचको एकता भाँडिएको छ ।  

घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो उपसभापति दिने गरि सहमति भएको थियो । उक्त सहमति अनुसार नै उज्यालो नेपाल पार्टीको कोटामा परेकाहरु रास्वपाबाटै समानुपातिक उम्मेदवारको सूचीमा राखिएको थियो ।

दुई पार्टीबीचको एकता भाँडिनुलाई दुवै पक्षले एकले अर्कोलाई आरोप लगाएका छन् ।

रास्वपा पक्षले कुलमानले पदमाथि पद मागेको अनि पार्टीको नाम समेत परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेको बताएको छ भने उनेपा पक्षले रास्वपाले आफ्नो अनुकुलतामा निर्णय गर्नेहरु आफूलाई बेवास्ता गरेको आरोप लगाएको छ ।

रास्वपाको दाबी अनुसार घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी र सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेका थिए ।

समानुपातिक उम्मेदवारलाई बन्दसूचीको पहिलो रोहमा राख्नुपर्ने कुलमान पक्षले अडान नछाडेपछि सहमति भाँडिएको रास्वपाले बताएको छ । 

कुलमानको समानुपातिक उम्मेदवार चिप्लियो

एकता गरेर आफू रास्वपाको दोस्रो बरियतामा रहे पनि उनी रास्वपाको कार्यालय समेत पुगेनन् ।

वृहत्त एकता समायोजन कार्यक्रममा पनि नगएका उनले मन्त्री पद जोगाउनकै लागि आफू कुनै पनि पार्टीको सदस्य नरहेको समेत बताउँदै आएका थिए । तर चौतर्फी आलोचनापछि मात्रै उनले २ दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मन्त्रीबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा समेत उनले आफू रास्वपाको नेता भन्न हिच्किचाएका थिए ।

घिसिङले उज्यालो नेपाल पार्टीलाई रास्वपाबाट अलग गरेको घोषणा गरेका छन् । उनको यो निर्णयले उज्यालो नेपाल पार्टीले समानुपातिक पद सबै गुमाएको छ ।

यसअघि रास्वपाबाटै उम्मेदवार सिफारिस गरिएकाहरुलाई निर्वाचन आयोगले रास्वपाकै मान्यता दिनेछ ।