दुर्गा प्रसाईँ र ऋषि कट्टेललाई छाड्न सर्वोच्चको आदेश


खबरस्टोरी संवाददाता
१२ फाल्गुन २०८२, मंगलवार
दुर्गा प्रसाईँ र ऋषि कट्टेललाई छाड्न सर्वोच्चको आदेश

काठमाडौ । निर्वाचन विरोधी अभिब्यक्ति दिएकै आरोपमा पक्राउ परेका राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई तत्काल रिहा गर्न मंगलबार आदेश जारी गरेको हो ।

निर्वाचन भाँड्ने आशंकासहित सरकारले प्रसाईंलाई फागुन ४ गते मध्यराति भक्तपुरको ठिमीस्थित निवासमा प्रहरी पठाएर समात्न लगाएको थियो । त्यसयता उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । प्रसाईंलाई एक महिनायता सरकारले पटक पटक धरपकड गरिरहेको छ । यसअघि माघ २३ गते पनि उनलाई पक्राउ गरिए पनि सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए ।

यस्तै, सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई पनि छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो ।

कट्टेल नेतृत्वको नेकपासहित विभिन्न चार दलले फागुन २१ गते हुने निर्वाचन बहिष्कारको घोषणा गरेको छ । चारै दलले संयुक्त संघर्ष समिति नै बनाएर देशब्यापी चुनाव विरोधी गतिविधि गर्दै आएको छ । संघर्ष समितिको संयोजक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल छन् ।

निर्वाचन बहिष्कार समूहहरुलाई निगरानी गर्दै आएको प्रहरीले कट्टेल र नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुलाई फागुन ६ गते पक्राउ गरेको हो । बन्दी प्रत्यक्षीकरणको रिटमा बास्तोलाई रिहा गर्न भने सर्वोच्चले अस्वीकार गरेको छ ।