Media Network

देउवा, प्रचण्ड र ओली वार्ताः एमसीसीबारे बालुवाटारमा के पाक्यो ?


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौं । सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा एमसीसीका बारेमा झण्डै दुई घण्टा छलफल भएको छ । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी संसदबाट पारित गराउन माग गर्दै एमसीसी मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि तीन शीर्ष नेताहरुबीच छलफल भएको हो । 

एमसीसीबारेको पत्र बाहिरिएसँगै प्रचण्ड सर्वत्र आलोचित भइरहँदा सरकारबाट बाहिरिएको सात महिनापछि एमाले अध्यक्ष केपी ओली आइतबार पहिलो पटक बालुवाटार छिरेका थिए ।  

सरकारबाट बाहिरिएपछि प्रचण्ड र देउवासँग झण्डै दुई घण्टा छलफलमा सहभागी भएका ओली आइतबार हँसिलो मुद्रामा देखिएका थिए भने देउवा र प्रचण्ड खिन्न मुद्रामा थिए । 

बालुवाटार बैठकमा आइतबार एमसीसी पास गराउन देउवाले ओलीसमक्ष आग्रह गरेका थिए । सोही बैठकमै सत्ता गठबन्धनकै अर्को दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसी चुनावपछि अगाडि बढाउने आग्रह गरे । गठबन्धनमै एक मत नदेखिएपछि ओलीले एमसीसीबारे सरकार अर्थात सत्ता गठबन्धनको स्पष्ट धारणा मागे । 

बैठकमा एमसीसीका साथै स्थानीय निर्वाचन र संसद्को जारी अवरोध हटाउने विषयमा छलफल भएको थियो । 

तीन शीर्ष नेताहरुको छलफलमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले महासचिव शंकर पोखरेल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । 

वैठकमा प्रचण्डले चुनाव नजिकिएको भन्दै चुनावपछि एमसीसीको विषय टुंग्याउन प्रस्ताव गरेको बैठकपछि एमाले महासचिव पोखरेलले बताए । 

देउवाले भने एमसीसीका बारेमा आफ्नो दल सुरुदेखि नै प्रस्ट रहेको बताउँदै एमसिसीबारे छिटो निर्णयमा पुग्न ओलीलाई आग्रह गरेका थिए ।

एमसीसी स्थगित गर्ने विषय सत्तारूढ र प्रतिपक्षी दलले संयुक्त रूपमा आग्रह गर्नुपर्ने प्रचण्डको भनाइ थियो । एमसीसीको विषयमा प्रधानमन्त्रीसँग मिलेर संयुक्त पत्र लेखेको कुराको आफूले खण्डन नगरेको उनले बताएको महासचिव पोखरेलले बताए ।

देउवाले संसदको अवरोध हटाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले भने सभामुखको कदमका कारण समस्या भएको बताएका थिए । ओलीले आफूहरूलाई संसद्मा प्रवेश गर्ने वातावरण बने राष्ट्रिय महत्त्वका कुनै पनि विषयमा प्रमुख प्रतिपक्षी दल अनिर्णीत नबस्ने धारणा राखेका थिए । 

संसद् अवरोध र एमसीसीका विषयमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकासँग प्रत्यक्ष जोडिएको उनको भनाइ थियो ।  

उनले सत्तारूढ दलले राष्ट्रिय महत्वको विषयमा दोधारमा बस्न नहुने सुझाव दिए । स्थानीय चुनाव समयमै हुनुपर्ने, गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई कारबाही गर्नुपर्ने, मुलुकको वित्तीय सङ्कट, २४ लाख खोप अपचलन भएको कुरा पनि ओलीले उठाएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद