दुई देशका प्रधानमन्त्रीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।
‘दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर मार्फत जानकारी दिइएको छ ।
‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्ने,’ देउवा र मोदीबीच भएको छलफलबारे उनले ट्वीटरमा लेखेका छन्, ‘बहुपक्षीय साझेदारीमा व्यापक एजेण्डाहरु वार्तामा छन् ।’ भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनी आइतबार स्वदेश फर्कनेछन् ।
४ वटा सहयोग सम्झौतामा हस्ताक्षर
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रम मोदीले नेपाल र भारतबीच ४ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच एकल र प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि उक्त समझदारीपत्रमा दुवैतर्फका सरकारी अधिकारीले हस्ताक्षर गरेका थिए।
इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश सम्बन्धि समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपुर्ती सम्झौता, भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राबिधिक सहयोग अर्को सम्झौता र सीमापार रेल सम्बन्धि प्राविधिक सहयोग सम्बन्धि समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको हो। सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारी अनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा भारत सरकारले सघाउनेछ। नेपालका विश्वविद्यालयको पाठ्यक्रममा रेल्वे विषय समावेश गरी अध्यापन गराउन भारतले सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ। त्यस्तै, रेलसेवामा काम गर्ने इन्जिनियरलाई तालिम दिने र भारतले रेल विषय अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराउने विषय पनि उक्त समझदारीमा समेटिएको छ।