खासगरी अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गरिएपछि राजनीतिक दलका नेता कार्यकर्ताहरुमा सन्तुष्टि चुलिएको छ । स्थानीय तहको निर्वाचन नजिकिएपछि राजनीतिक जोड घटाउ गर्दै जनप्रतिनिधिहरुले दल बदल्न शुरु गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशका सांसद ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश कमिटीको प्रशिक्षणमा भाग लिन सुर्खेत गएकै दिन विष्टले पार्टी त्यागेको घोषणा गरे । एमसीसीबारेमा नेतृत्वले द्वैध चरित्र देखाएको उनको आरोप थियो । उनी माओवादी कर्णाली प्रदेशसभाका सचेतक समेत थिए ।
पर्साको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पनि पार्टी परित्याग गरे । उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट सराबगी महानगरको मेयर निर्वाचित भएका थिए ।
फोरमबाट निर्वाचित उनी पछिल्लो समय उपेन्द्र यादव नेतृत्वकै पार्टी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत थिए । तर चार वर्षपछि स्थानीय तह निर्वाचन हुँदै गर्दा उनी पार्टी बदलेर शनिवार नेकपा एमालेमा प्रवेश गरे ।
यस्तै, वीरगन्ज महानगरपालिका वडा नं १४ का अध्यक्ष भरत कुर्मी र वडा नं २५ का वडाध्यक्ष विश्वराज राउत कुर्मीले पछि पार्टी छाडे । जसपाबाट निर्वाचित दुवै जनप्रतिनिधि जसपा छाडेर शनिवार नै सरावगीसँगै एमालेमा प्रवेश गरे ।
केही दिनअघि बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीले पनि जनता समाजवादी पार्टी परित्याग गरेका छन् । अन्सारीसहित अन्य ५ जना जनप्रतिनिधिहरु पनि पार्टी परित्याग गरी एमालेमै प्रवेश गरेका छन् ।
यस्तै, मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल दुवै जनाले आफ्नो पूर्ववत पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रबाट मेयर र उपमेयर निर्वाचित उनीहरुले पार्टी बदल्दै एमालेमा प्रवेश गरे । मेयर उपमेयरसहित अरु केही जनप्रतिनिधिहरुले पनि दल बदल्दै एमाले प्रवेश गरेका थिए ।
यता, पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाले पनि माओवादी परित्याग गरेका छन् । माओवादी छाडेर उनी एमालेमै प्रवेश गरे । पछिल्लो समय अधिकांश जनप्रतिनिधिहरु एमाले प्रवेश गर्ने लहर नै चलेको छ ।
नेपाली कांग्रेससहितको चार दलीय सत्ता गठबन्धन निर्वाचनमा पनि सँगै जाने तयारीमा छन् । चार ठूला दल मिलेर एमालेविरुद्ध चुनाव लड्ने तयारी गर्दै गर्दा जनप्रतिनिधिहरु भने धमाधम एमालेमै प्रवेश गरिरहेका छन् । यसले चुनावी गठबन्धन हुन नहुने भन्ने नेताहरुलाई पनि झस्काइदिएको छ ।