चुनावमा सहभागी हुने प्रस्ताव महासचिव नेत्रविक्रम चन्दले केन्द्रीय समिति बैठकमा पेश गरेपछि सुरु भएको विवाद फुटको संघारमा पुगेको छ । पार्टीको १२ औं केन्द्रीय समिति बैठकमा पेश गरेको विप्लवको प्रस्ताव अस्वीकृत भएको थियो । चुनावमा सहभागी नहुने पक्षमा बहुमत भएपछि बिचको निर्णय गरिएको थियो ।बैठकले न चुनाव उपयोग न बहिस्कारको निर्णय गरेको नेकपाले पछिल्लो पटक दल दर्ताको प्रयासदेखि उम्मेदवार उठाउन थालेपछि नेताहरु बास्तोला र सुदर्शनले विरोध जनाउँदै आएका थिए । उनीहरुले केन्द्रीय समितिको निर्णय विरुद्ध भएको भन्दै महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको सार्वजनिक रुपमै विरोध गर्दै आएका थिए ।
सचिवालय सदस्य बास्तोलाले पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागी नहुने हुने भए राजिनामा दिएर जानु पर्ने निर्णय भएको तर त्यसको महासचिवबाटै उलंघन भएको बताउँछन् । उनले पार्टीको संस्थापनले पार्टी निर्णयलाई लत्याएको भन्दै विज्ञप्ति निकालेर उम्मेदवारलाई फिर्ता हुन अपील गर्दै विज्ञप्ति जारी गरेका थिए ।बास्तोलाको उक्त विज्ञप्तिप्रति आक्रोसित विप्लवले अर्को केन्द्र खडा गरेको, बैठकको निर्णयअनुसार चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको साटो फिर्ता हुन भनेको र सुदर्शनले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै दुबै जनालाई कारवाही गरेका थिए । उक्त कारवाहीलाइ खारेज गर्दै बास्तोलाले र सुदर्शनले अर्को विज्ञप्ति जारी गरेका थिए ।
भोलिबाट ३ दिनसम्म चल्ने भेलाको लागि आज देशभरबाट अगुवा कार्यकर्ता चितवन पुग्दैछन् । विद्रोही समूहका एक केन्द्रीय सदस्यका अनुसार आज साँझसम्म सबै प्रतिनिधिहरु चितवन पुगिसक्नेछन् । तत्कालिन ब्यूरो, विशेष कमिटी सदस्य, जिल्ला सेक्रेटरी र केही अगुवा कार्यकर्ता पनि भेलामा सहभागी हुने बताइएको छ ।