उचालियो गगन- विश्वप्रकाशको कद, देउवापथमा हिड्दा सिद्धिए शेखर


खबरस्टोरी संवाददाता
२७ पुष २०८२, आईतवार
उचालियो गगन- विश्वप्रकाशको कद, देउवापथमा हिड्दा सिद्धिए शेखर

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेका पुरातनवादी नेताहरुको हठले गर्दा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कद उचालिएको छ । 

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरुको पुरातवादी र पुस्तान्तरणलाई वेवास्ता गर्दै पेलेर अघि बढ्ने सोंचका कारण गगन–विश्वको राजनीतिक हैसियत झनै माथि उचालिएको हो । लामो समय कांग्रेस राजनीतिमा रहेर पनि सधैं वयोवृद्ध नेताहरुलाई पनि ‘दाइ’ भनेर झोला बोक्नुपर्ने बाध्यतालाई गगन विश्वले चिरिदिएका छन् । 

पछिल्लो समयको नव युवापुस्ताको आन्दोलन र आवाजलाई दबाउन खोज्दा देउवासहित उनी पक्षका अन्य नेताहरुसमेत राजनीतिबाट पछि परेका छन् । 

देउवापथमा हिड्दा सिद्धिए शेखर 

इतर पक्षमै भए पनि पछिल्लो समय देउवा पथमा हिड्दा शेखर कोइराला पनि कांग्रेस नेतृत्व पाउने सम्भावना अब सम्भवतः सदाका लागि सकिएको छ । देउवा पार्टीका ५४ प्रतिशत बढीको हस्ताक्षरलाई समेत बेवास्ता गरेर अघि बढेपछि विशेष महाधिवेशन पक्षधरलाई साथ दिएर गगन विश्वले आफ्नो आफ्नो राजनीतिक उचाई उच्च बनाएका हुन् । 

६२ प्रतिशत भन्दा बढी सहभागी 

विशेष महाधिवेशनमा ५१ प्रतिशत पुग्ने नपुग्ने अन्योल भइरहँदा ६२.२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ५० प्रतिशत सहभागिता पुग्न नदिने देउवा प्रपण्च असफल भएको छ । पार्टी कार्यालय सचिवलाई विज्ञप्ति निकाल्न लगाउनेदेखि कसैको लहडमा नलाग्नु भन्दै निर्देशन जारी गरे पनि त्यसलाई चिर्दै कांग्रेसको विशेष महाधिवेशनमा सहभागिता जनाएका छन् । 

पुस २७ गते शुरु भएको विशेष महाधिशनको उद्घाटन समारोहमा बोल्ने सबै नेताहरुले गगन विश्वको तारिफ मात्रै गरेका छैनन्, कांग्रेसको भविष्य भनेका छन् ।  

कांग्रेसका वैचारिक नेता मानिने महेश आचार्यले कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई भोलिका कांग्रेसका रूपमा सम्बोधन गरे भने देउवा र उनी निकट नेताहरूलाई इतिहासमा मात्रै दर्ज हुने टिप्पणी गरे । 

कांग्रेस युवा नेता प्रदिप पौडेलले पार्टी संस्थापनले देशभरका प्रतिनिधिहरुको अपमान गरेको बताए । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको उनको भनाई थियो । 

नीति बदल्ने, नेतृत्व चुन्ने 

महाधिवेशन पक्षधरहरुले आफूहरु पार्टी फुटाउन नचाहेको बताए पनि नयाँ नेतृत्व चुल्ने घोषणा गरेका छन् । विशेष महाधिवेशनको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै थापाले महाधिवेशनले नीति बदल्ने र नेतृत्व चुन्ने भन्दै त्यसको जिम्मा महाधिवेशन प्रतिनिधिलाई दिएका छन् । विशेष महाधिवेशन हुँदै गर्दा आइतबार दिउँसो देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका थिए । 

थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका पनि भत्किएको बताए । विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको उनको भनाई छ । 

काँग्रेस लासहरुको पार्टी नभई जिउँदा मानिसहरुको पार्टी भएको भन्ने स्थापित भएको पनि उनले तर्क गरे । भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको आक्रोश आफ्नै पार्टीका नेताहरुको कारण रहेको पनि थापाले बताए । आसेपासे र केही झुण्डको वरिपरि नेताहरु रहेको आक्रोश गगन विश्व दुवैले पोखे । 

राजाको छोरा राजा हुने राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर युवाहरु रिसाएको थापाले स्पष्ट गरे । यद्यपी दोस्रो दिनको विध्वंसलाई पनि सहमत हुन नसक्ने दुवै महामन्त्रीको भनाई थियो । 

महामन्त्री थापाले आफू बिपी कोइराला र गणेशमान सिंहको छोरा नभए पनि उनीहरूको विचार बोकेर हिँडेको कांग्रेसको सच्चा सिपाही भएको बताए । 

पार्टी रुपान्तरणका लागि गम्भीर छलफल हुने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशनमा गम्भीर छलफल हुने बताए । प्रत्येक नागरिकको असन्तुष्टिको केस्राकेस्रा केलाउने उनको भनाई छ ।

३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिले पनि नागरिकलाई नमिलेको विश्वप्रकाशले बताए । 

उनले जेनजी आन्दोलनमा देखिएका अनुहारहरू अन्तरिक्षबाट नआएको भन्दै नवयुवाको आवाज बुझ्नुपर्ने बताए । राज्यका हरेक निकायमा भएको बेथितिको कारक पनि आफ्नै नेताहरु रहेको शर्माको तर्क थियो ।