Media Network

उपेन्द्र पक्षको केन्द्रीय समिति बैठक आजबाट शुरु


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक बुधबारबाट शुरु हुँदैछ । संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकको भोलिपल्ट बुधबारदेखि उपेन्द्र पक्षको केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

पार्टी विभाजनको औपचारिक घोषणा मात्रै नभएको जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक बीरगञ्जमा बस्दैछ । 

पार्टी अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईको आपसी खिचातानीपछि पार्टी विभाजित अवस्थामा पुगेको हो । मंगलबारदेखि काठमाडौंको जडिबुटीमा जारी भट्टराई समूहको केन्द्रीय समिति बैठकमा भट्टराईले राजनीतिक दस्तावेज नै पेश गरेका छन् । भट्टराईको दस्तावेजमा यादवमाथि दर्जनौं आरोपहरु लगाइएका छन् । 

भट्टराई समूहको बैठकमा पूर्वमन्त्रीसमेत रहेका महेन्द्र राय यादव पनि सहभागी छन् । भट्टराई समूहको बैठक बुधबार सकिने छ ।  

जसपा केन्द्रीय कमिटी ४ सय ९९ सदस्यीय रहेको छ । ३२ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिमध्ये २४ जना उपेन्द्र पक्षमा रहेको दाबी गरिएको छ । भट्टराई पक्षको बैठकमा २३० जना केन्द्रीय सदस्य उपस्थित रहेको दाबी भट्टराईले गरेका छन् ।  

वीरगंजको बैठकमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सुशीला श्रेष्ठ, रामसहाय यादव, मनीष सुमन, परशुराम बस्नेत, विजय यादव, मृगेन्द्र सिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापालगायतको सहभागिता रहने बताइएको छ ।

वीरगञ्जमा बस्ने बैठकले संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बोलाएको बैठक विधान विपरीत ठहर गर्दै भट्टराई लगायतका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । 

२०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति एकता गर्दै संघीय समाजवादी पार्टी बनेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरेपछि जनता समाजवादी पार्टी, नेपाल बनेको थियो । लोकतान्त्रिक समाजवादी पार्टी भने यसअघि नै अलग भइसकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद