रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ ।
शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ ।
तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि संसद्ले उपसभामुख पाएको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।
यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । त्यतिबेला उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् ।
प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।
पाँच दलीय गठबन्धनसँग काँग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ ।