उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले बिहीबार दिउँसो ११ बजेदेखि १ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकेपछि गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराईले उम्मेदवार मनोनयन दर्ता गराएका थिए ।
उपसभामुखमा उठेकी भुसालको प्रस्तावक माओवादी केन्द्रका सांसद देव गुरुङ र समर्थक एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छिन् भने भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ । र, बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुनेछ ।
६ माघ ०७६ मा डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।
गठबन्धनबाट उम्मेदवार दिएकी भुसाल यसअघि उपसभामुखमै तुम्बाहाङफेसँग पराजित भएकी थिइन् । कांग्रेसकी समानुपातिक सांसद रहेकी भुसाल अर्घाखाँचीकी हुन् ।
भुसाल २०७० को निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन् । कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन् ।
यस्तै, उपसभामुखकी अर्की उम्मेदवार विद्या दिवंगत नेता रविन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म बनेकी थिइन् ।
रवीन्द्र अधिकारीसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।
स्व रवीन्द्र र विद्या दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका थिए । पछिल्लो समय उनी आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन् ।
रवीन्द्रको निधनपछि शीर्ष नेताहरुकै आग्रहमा उनी कास्की–२ बाट उपनिर्वाचनमा लडेर निर्वाचित भएकी हुन् ।