उपसभामुखको मतदानका लागि घण्टी बज्यो


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
उपसभामुखको मतदानका लागि घण्टी बज्यो
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारको प्रतिनिधिसभा बैठकमा मतदान प्रक्रिया शुरु भएको छ । 

उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराई उम्मेदवार छन् । 

दुवै उम्मेदवारको प्रस्ताव र समर्थकहरुले आ आफ्ना पक्षमा मत मागिसकेपछि दुवै उम्मेदवारका तर्फबाट एक दर्जन बढी सांसदहरुले धारणा राखेका छन् । उम्मेदवारका सम्बन्धमा छलफल सकिएपछि सवा ४ बजेदेखि मतदान प्रक्रिया शुरु भएको छ । मतदानका लागि विभाजन घण्टी बजिसकेको छ । 

प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, नेकपा (एकीकृत समाजवादी) पार्टीका २३, जनता समाजवादी पार्टी (जसपा) का २१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १३ र अन्य साना दल तथा स्वतन्त्र गरी ४ सांसद छन्।