काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै विभिन्न दल, समूह तथा चर्चित ब्यक्तिहरुलाई भित्राएको रास्वपाले सोमबार काठमाडौंमा आयोजना गरेको वृहत्त एकता समायोजना घोषणा समारोहमै कुलमान घिसिङ र बालेन्द्र शाह (बालेन) अनुपस्थित भएका छन् ।
नवगठित विभिन्न दल तथा समूहसँग एकता गर्दै वैकल्पिक शक्ति निर्माणमा लागेको रास्वपाले चर्चित अनुहारका रुपमा कुलमान र बालेनलाई समानान्तर पदीय भागबण्डामा पार्टीमा भित्रएको छ ।
बालेनसँगको ७ बुँदे लिखित सम्झौतामै बालेनलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने सहमति समेत गरिएको छ । जसअनुसार बालेन ले निर्वाचन जितेमा रास्वपा संसदीय दलको नेता बन्नेछन् ।
यस्तै, वर्तमान अन्तरिम सरकारमा तीन वटा मालदार मन्त्रालय सम्हाल्दै आएका कुलमान घिसिङलाई रास्वपा सभापति रवि लामिछानेपछिको दोस्रो बरियतामा राख्ने गरी सहमति भएको छ ।
बालेनको भनिएको देश विकास पार्टीका तथा विवेकशील पार्टी र विभिन्न समूहबाट समाहित भएकाहरु ३३ जनालाई रास्वपाले आइतबार मात्रै केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
बालेन र कुलमान समूहलाई समेट्न भन्दै ४ पदाधिकारीको संख्या समेत बढाउने निर्णय गरेको छ ।
विभिन्न समूहसँगको एकतापछि रास्वपाले सोमवार वृहत्त एकता समायोजना घोषणा सभा आयोजना गरेको हो । तर उक्त घोषणा सभामै बालेन र कुलमान दुवै अनुपस्थित रहे ।
आइतबार मात्रै बालेनलाई वरिष्ट नेताको पद दिने गरि बालेनका २६ र विवेकशील साझाबाट ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार लगायतका नेताहरू रास्वपाका केन्द्रीय सदस्य बनेका छन् ।
उनीहरु सबै सोमवारको समायोजन घोषणा सभामा उपस्थिति हुँदा बरिष्ठ नेता बालेन्द्र शाह र दोस्रो बरियताका कुलमान अनुपस्थित रहेका हुन् । बालेन र कुलमानले भागबण्डामा पनि निकै लामो समय विवाद गरेका थिए ।
उनीहरुले प्रतिशतकै हिसाबमा समानुपातिक उम्मेदवारमा समेत भाग लिएका छन् ।
स्वर्णिमलाई बजेट लेख्दै गर्न निर्देशन
आगामी निर्वाचनको सम्मुखमा विभिन्न चर्चित अनुहारका ब्यक्तिहरुलाई पार्टीमा भित्राएर होसिएका रास्वपा सभापति रवि लामिछानेले सोमवार एकता समायोजन सभामै पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेलाई सरकारको बजेट लेख्दै गर्न निर्देशन दिए ।
रास्वपा निकै ठूलो बैकल्पिक शक्ति भएको भन्दै उनले आगामी निर्वाचनबाट बहुमत प्राप्त गर्ने दाबी गरे । उनले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गरे ।
उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिएका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको दाबी गरे । सभापति लामिछानेले बालेनको चर्चा गरे पनि बालेन सभामा कहिँ कतै देखिएनन् ।
एकता समायोजन कार्यक्रमकैबीच सोमवार रास्वपाले थरूहट/थारूवान् आन्दोलनका नेताहरुलाई पार्टीमा भित्राएको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा रहेका टीकापुर घटनाका आरोपी लक्ष्मण चौधरी लगायतका नेताहरु पनि रास्वपामा समाहित भएका छन् ।