Media Network

बाबुको फेरो समाउँदै गरेका कांग्रेस नेताका छोराछोरीको कथा


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

काठमाडौ । यतिबेला देशभर नै नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि चुनावी चहलपहल जारी छ ।

कांग्रेसको यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन हुँदैछ ।

खासगरी कांग्रेसको केन्द्रीय राजनीतिमा पुग्न महासमिति सदस्य जित्नै पर्ने हुन्छ । यसपाली भने कांग्रेसले महासमिति सदस्य नभनी महाधिवेशन केन्द्रीय प्रतिनिधि भनेको छ । केन्द्रीय राजनीतिमा पाइला टेक्न पार्टीको महाधिवेशन प्रतिनिधि जित्नै पर्ने हुन्छ ।

जसको निर्णायक स्थानीय तहको हरेक वडा वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि हुन् । क्षेत्रीय प्रतिनिधिले दिएको मतले केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न सकेको खण्डमा कांग्रेसको जो कोही कार्यकर्ताका लागि पार्टीको केन्द्रीय राजनीतिको पहिलो पाइला बन्नेछ ।

केन्द्रीय राजनीतिमा रहेका बाबुको बिँडो समाउँदै राजनीतिमा लागेका नेतापुत्रहरु यतिबेला महाधिवेशन प्रतिनिधि बनिरहेका छन् ।

विशेषतः नातावाद र कृपावादले प्रश्रय पाउने नेपाली राजनीतिबाट नेताका आसेपासेदेखि नेताका चाकडी र चाप्लुसी गर्नेहरुले मनग्गे लाभ उठाउने गरेका छन् । नेपाली कांग्रेसमा विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायतका नेताका छोराछोरी राष्ट्रिय राजनीतिमा छन् । यसपछिका पुस्ता पनि त्यसैगरी बाबुको बिडो थाम्दै केन्द्रीय राजनीतिमा आउने प्रयासमा छन् । राष्ट्रिय राजनीतिमा पुगेका नेताहरुले आफ्ना छोराछोरीलाई पनि त्यही स्थानमा देख्न चाहनु स्वभाविक हो । अझ राजनीतिम सक्रिय रहेका छोराछोरीलाई केन्द्रमा तान्न जो कोही नेताहरु लागि पर्ने गर्छन् । आसन्न १४ औं महाधिवेशनमा पनि कांग्रेस नेताहरुले आफ्ना छोराछोरीलाई केन्द्रमा तान्ने प्रयत्न विभिन्न तरिकाले गरिरहेका छन् ।

यसै सन्दर्भमा काँग्रेसको आँउदै गरेको आगामी महाधिवेशनका लागि कुन नेताका छोराछोरीहरुले कहाँ कहाँबाट आपmू र आफ्नो पारिवारिक फेरो समाउदै राजनीतिमा गुडुल्की मार्ने कोशिस गरेका छन् त ?

विजयकुमार गच्छदारपुत्र सुवास



नेपाली कांग्रेसको राजनीतिमा लामो समय रहेर मधेस राजनीतिबाट पुनः कांग्रेसमै फर्किएका विजयकुमार गच्छदारका छोरा सुवासले राजनीतिक सक्रियता बढाएका छन् ।

महाधिवेशन प्रतिनिधि चयन भएका कांग्रेस उपसभापति गच्छदारका कान्छा छोरा सुवास मोरङ क्षेत्र नं ६ बाट मधेशी कोटाबाट निर्विरोध चुनिएका छन् ।

अध्ययनको सिलसिलामा अमेरिकाको लामो बसाइ टुङ्ग्याएर नेपाल आएका सुवासलाई डा. शेखर कोइरालाको साथ रहेको छ ।

रामचन्द्र पौडेलकी छोरी संज्ञा


कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल पनि आगामी महाधिवेशनमा प्रतिनिधिका रुपमा निर्वाचित भएकी छन् ।

कांग्रेसनिकट इञ्जिनियर एसोसिएसनमा आवद्ध उनका श्रीमान् परमेश्वर पोखरेल लगायत परिवारका सबैजसो सदस्यहरु नै राजनीतिमा आबद्ध छन् भने पौडेलका छोरा चिन्तन यसअघि २ पटक महाधिवेशन प्रतिनिधि बनिसकेका छन् । यसपालि भने उनि चुनावी मैदानमा उत्रेनन् ।

प्रकाशमानको छोरा प्रभासमान


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टीको आगामी नेतृत्व आफ्नो हातमा पार्न लागिपरेका छन् ।

सिंह पार्टीभित्रको गुटबाट नभए विभिन्न तानाबाना बुन्दै पार्टी सभापतिको उम्मेदवार बन्न कस्सिएका छन् ।

गणेशमान सिंहका छोरा प्रकाशमानले अहिले आफ्नो छोरा प्रभाशमान सिंहलाई आफूसँगै राजनीतिमा ल्याइरहेका छन् । आसन्न १४ औं महाधिवेशनमा उनी आफ्नो छोरा प्रभासमानलाई पार्टीको क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउन सफल भएका छन् । ३२ वर्षका प्रभासमान काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । छोरासँगै प्रकाशमानकी श्रीमती सिर्जना समेत महाधिवेशन प्रतिनिधि बनेसँगै उनको घरमा मात्रै ३ जना महाधिवेशन प्रतिनिधि भएका छन् । नेता प्रकाशमानका दुई छोरामध्ये कान्छो भाष्करमान हुन् भने अर्का प्रभासमान हुन् ।

कृष्ण सिटौलाका छोरा श्याम


नेपाली कांग्रेसको अर्को प्रभावशाली नेता हुन्, कृष्णप्रसाद सिटौला । सिटौलाका एक मात्र छोरा पनि बाबुको राजनीतिलाई पछ्याइरहेका छन् ।

छोरा श्याम पनि पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि चुनिएका छन् । श्याम झापा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका हुन् ।

स्व.खुमबहादुर खड्काका छोरा अनुराग


नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्का आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा भएका छन्।

२७ वर्षीय खुमबहादुरका एक्ला छोरा अनुराग दाङको लमही नगरपालिका– ८ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद