Media Network

वैकल्पिक शक्तिका लागि अघि बढ्यो नागरिक पार्टी


खबरस्टोरी संवाददाता

३ बैशाख २०७९,शनिबार

काठमाडौं । अगामी वैशाख ३० गते देशैभरीका स्थानीय तहमा एकैसाथ निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दलहरुले भाग लिने भएको छ । निर्वाचन आयोगको ५४ औं नम्बरको सूचीमा छ, राष्ट्रिय नागरिक पार्टी । पार्टीका अध्यक्ष छन्, शुक्रबहादुर गुरुङ् । गुरुङ्को नेतृत्वमा ४७ जनाको केन्द्रीय कार्य समिति रहेको छ । 

२०७३ साल मंसिरमा दर्ता भएको यो पार्टी ७४ सालको निर्वाचनपछि भने केही समय मौन देखियो । जब राष्ट्रिय राजनीतिमा अराजक भिडतन्त्र मौलाउँदै गयो, नागरिक पार्टी पनि नागरिक माझ पुग्दै गयो । अहिले यो पार्टी ३८ जिल्लामा पुगिसकेको छ । पार्टी अध्यक्ष गुरुङ जिल्ला जिल्लामा पुगेर पार्टी संगठन बनाउन तल्लिन छन् । 

गणतन्त्र स्थापनापछि देश र नागरिकको अवस्था झन् झन् बिग्रदै गएकोमा नागरिक पार्टीका अध्यक्ष गुरुङको मन खिन्न भएको छ । तर उनले हार भने मानेका छैनन् ।  ठूला तीन चार वटा दलको वरिपरि सत्ता घुमिरहँदा देश झनै बिग्रिएको ठान्छन् गुरुङ् । देश र जनताको लागि भन्दा पनि सत्ताको लागि जे पनि गर्न तयार यिनै तीन चार वटा दलकै कारण देशको अवस्था दयनीय भएको उनी बताउँछन् । 

ठूला पार्टी भन्नेलाई एक्लै लड्न डर 

वर्षौंदेखि आलोपालो सत्तामा रहे पनि देश र जनताका पक्षमा काम नगरेपछि जनताबाट नाङ्गिएका दलहरु अहिले एक्लै लड्ने आँटसमेत गरेका छैनन् । 

‘एक्ला एक्लै लडेर जाने हो भने उनीहरुका (ठूला दल) कति वटा पार्टी सखाप हुन्छ ?’, गुरुङ् भन्छन्,– ‘प्रचण्ड र माधव नेपाल १० वटा सिटमा पनि आउँदैन ।’  ठूला दलका नेताहरु जसरी पनि सत्तामा पुग्ने र देशको ढुकुटी सिध्याउने योजनामा मात्रै रहेको उनी आरोप लगाउँछन् । 

‘यिनीहरु देशै बेच्न तयार छन्, एमसीसीका नाममा देश बेच्ने काम गरिसके ।’ आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्न खोजेका सत्ता गठबन्धन दलहरुलाई एउटै पार्टी बनाउन गुरुङ सुझाव दिन्छन् । 

‘देशका लागि केही गर्छु भन्ने हो भने उनीहरु छुट्टाछुट्टै पाँच वटा पार्टी भनेर किन हिड्नु पर्यो ? एउटै पार्टी बनाए भैगो नि ।’– गुरुङ भन्छन् । 

उनीहरु देश बनाउनका लागि नभई जसरी पनि सत्तामा पुग्ने ध्यान ती दलहरुलाई भनेको गुरुङको बुझाई छ । निर्वाचन गर्ने भनेर उनीहरुले भाग बाँड्ने काम मात्रै गर्न लागेको गुरुङले स्पष्ट गरे ।  गठबन्धन गरौं भनेर अहिले आफ्नो पार्टीलाई पनि कुरा आएको तर आफूले कसैसँग पनि गठबन्धन गर्न नचाहेको उनले बताए ।   

देशको स्थिति बिग्रएकोमा चिन्ता 

देशब्यापी संगठन निर्माणमा दौडिएका गुरुङलाई देशको अवस्था बिग्रिदै गएकोमा चिन्तित छन् । 

‘गोरखाको बारपाक भन्दा माथि जाँदै थियौं, जानेबेलामा बाटो ठीकै थियो, फर्किँदा पानी पर्यो, बाटो नै छैन । त्यस्तो छ देशको स्थिति ।’– गुरुङ देशको बारेमा चिन्ता ब्यक्त गर्छन् ।  

अधिकांश जिल्लाको सदरमुकामसम्म बाटो भए पनि गाउँगाउँमा कुनै बाटोघाटो र विकास नभएको उनी बताउँछन् ।  

‘गाउँका किसानले उत्पादन गरेका तरकारी बेच्नु पर्यो भने पनि बाटो छैन । तर नेपाली जनताले यो कुरा बुझेनन् ।’– उनले देशको अवस्था दर्शाए । ढिलो चाँडो जनता बुझ्ने उनको विश्वास छ ।  

आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारात्मक कार्यक्रमलाई मात्रै अघि बढाएको नागरिक पार्टीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा ७० जिल्लाबाट उम्मेदवार उठाउने तयारी गरेको गुरुङले बताए ।  

आफ्नै पैसाले पार्टी चलाउँछन् 

ठूला पार्टीका नेताहरुले उद्योगी ब्यापारी र ठेकेदारहरुबाट पैसा उठाएर पार्टी चलाउने गरे पनि गुरुङ भने कुनै ठेकेदार र ब्यापारीबाट पैसा उठाउँदैनन् । कसरी चल्छ त पार्टी ? उनी भन्छन्– ‘पार्टी पदाधिकारीहरुबाटै पैसा उठाएर आवश्यक खर्च चलाउने काम गरिरहेका छौं ।’ पार्टीका एक केन्द्रीय सदस्यबाट एक हजार रुपैयाँ उठाउने गरिएको उनले बताए ।

पार्टी संगठनका लागि देशका विभिन्न जिल्लामा पुग्दा लाखौं रुपैयाँ खर्च हुने भएकाले अनुशासनका लागि मात्रै केन्द्रीय सदस्यबाट प्रतिब्यक्ति एक हजार उठाउने गरिएको उनले बताए । आसन्न निर्वाचनमा स्थानीय तहमा उम्मेदवार उठाउनका लागि पनि केन्द्रबाटै नै सहयोग गरिने उनले बताए ।  आर्थिक अभावमा चुनावमा उठ्नै नसक्ने कार्यकर्तालाई पार्टी केन्द्रबाट सहयोग गर्ने उनले जानकारी दिए ।  

वैशाख ४ गते आइतबार आसन्न निर्वाचनबारे छलफल गर्न भन्दै गुरुङले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । केन्द्रीय कमिटीको बैठकमा आर्थिक सरसहयोग जुटाउनेबारेमा पनि छलफल गर्ने उनले बताए । पार्टीका दस्तावेजहरु आ–आफ्नै खर्चले केन्द्रबाटै छपाएर ठाउँ ठाउँमा पुर्याइदिने पनि उनले जानकारी दिए ।  

ठूला पार्टीका रवाफ, निरिह निर्वाचन आयोग

दुई चार वटा ठूला राजनीतिक रवाफ आम नागरिकले सधैं नसहने उनको बुझाइ छ । निर्वाचन आयोगको गतिविधिबाट पनि गुरुङ सहित साना राजनीतिक दलका नेताहरु रुष्ट छन् । 

निर्वाचन आयोग ठूला दलको निर्देशनमा चल्ने गरेको गुरुङले बताए । ‘आयोगले सानो होस् वा ठूलो सबै पार्टीलाई सम्मान गर्न सक्नु पर्छ । ठूला पार्टीको झोले कार्यकर्ता बन्नु हुँदैन, निर्वाचन आयुक्तहरु ।’– उनले भने ।  

आयोगले सात वटा दल मात्रै बसेर छलफल गर्ने गरेको भन्दै ७९ वटै दलको प्रतिनिधि राखेर निर्वाचनमा कसरी जाने भनेर निर्वाचन आयोगले छलफल गर्नुपर्ने उनले बताए । निर्वाचन आयोगले राजनीतिक दलहरुप्रति नै भेदभाव गरिरहेको दाबी गरे ।

विश्वमै नभएका चिजहरु रहेको नेपाललाई १० वर्षमै कायापलट गर्न सकिने विश्वास गुरुङसँग छ । त्यसका लागि मुलुक बनाउने इच्छाशक्ति भएका नेताको खाँचो रहेको उनले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद