विप्लवले नेताहरु सच्चिएर आएमा माओवादी केन्द्रसहितका शक्तिहरुसँग पार्टी एकता हुन सक्ने बताए । प्रचण्डहरु पहिलेकै ठाउँमा फर्किएर आएमा आफूहरु छलफल र बहस गर्न तयार रहेको विप्लवको भनाइ थियो ।
‘प्रचण्डजीले पार्टी एकताको कुरा गर्नुहुन्छ’, विप्लवले भने, ‘मैले उहाँ (प्रचण्ड)हरुलाई भनेको छु, तपाइँहरू पुरानै ठाउँमा फर्किनुस्, हामी छलफल र बहस गर्न तयार छौं ।’
‘तिब्बती शरणार्थी शिविरको भ्रमण गम्भीर’
नेकपा महासचिव विप्लवले पछिल्लो समय नेपालमा नेपालमा साम्राज्यवादी हस्तक्षेप बढेर गएको पनि दाबी गरे । अमेरिकी सहायक विदेशमन्त्री नेपालमा आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूविरुद्धमा उचाल्ने खेलमा लागेको पनि उनले आरोप लगाए ।
नेपालमा एमसीसी पास गरिएपछि एमसीसीको कार्यालयमा अमेरिक कर्मचारीहरु ओइरिन थालेको पनि विप्लवले दावी गरे ।
उनले दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने अवस्थामा रहेको दाबी गरे ।
चुनाव क्रान्तिको एउटा अंगको रुपमा उपयोग
नेकपा महासचिव विप्लवले स्थानीय तहको निर्वाचन २०७९ लाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको स्पष्ट गरे । हालै सम्पन्न स्थानीय चुनावमा विप्लव समूह स्वतन्त्र रुपमा भाग लिएको थियो ।
चुनावमा भाग लिने विषयमा नै विवाद चर्किँदा विप्लव नेकपा विभाजित भएको थियो । विप्लवसँग असन्तुष्ट समूहले धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा पार्टीमा मतभेद हुँदा पार्टी विभाजनसम्म पुगेको विप्लवले स्मरण गरे । निर्वाचनकै विषयको विवादका कारण विप्लवले बास्तोल र हेमन्त प्रकाश ओलीलाई कारबाही गरेका थिए ।
असोज १ गते महाधिवेशन
विप्लव नेतृत्वको नेकपाले आगामी असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने भएको छ ।
पार्टी आठौं केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकले असोज १ गते महाधिवेशन गर्ने निर्णय गरेको पनि विप्लवले जानकारी दिए । आगामी असोज १ गते हुने पार्टीको ९ औँ महाधिवेशनबाट सबै भ्रमहरू चिर्ने उनले बताए । पार्टीको महाधिवेशनसँगै राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नुपर्ने आवश्यकता रहेकामा पनि उनले जोड दिए ।
नेपालमा भएको कुनै पनि असमान सन्धि समझौता तथा विदेशी हस्तक्षेपका विरुद्ध प्रतिरोध संघर्ष गर्नेबारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल भएको विप्लवले बताए ।
उनले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताएका छन् ।