नेकपाको असन्तुष्ट पक्षको चितवनमा बुधबार सुरु राष्ट्रिय भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई महासचिव पदबाट हटाएकै दिन संस्थापन पक्षले पार्टीका केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ र गुणराज लोहनीलाई पार्टीबाट निलम्बन गरेको हो।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गरी उनीहरूलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।
‘पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई विसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ध अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ध विष वमन गर्ने अन्ततः पार्टी, एकीकृत जनकान्ति, पार्टी पद्धति र अनुशासनविरुद्ध अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य क. दीपक चलाउने र क. गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरेको छ।’ विज्ञप्तिमा भनिएको छ ।