काठमाडौं । मोहन वैद्य नेतृत्वको तत्कालिन क्रान्तिकारी माओवादी छाडेका कार्यकर्ताहरुले शैक्षिक क्षेत्रलाई अस्तब्यस्त बनाउन थालेका छन् ।
क्रान्तिकारी माओवादी छाडेर छुट्टै समूह बनाएका दिनेश बर्तौला, बसन्त बोगटी, इन्दिरा अधिकारी लगायतले जेनजी आन्दोलनपछि विभिन्न पार्टी एकता भई नेकपा (जनपक्ष) पार्टी घोषणा गरेका थिए ।
उनीहरुले २०८२ मंसिर २५ गते पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्षमा जाने चेतावनीसमेत दिएका थिए ।
यो समूहले नेकपा(क्रान्तिकारी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी(बोल्सेविक) र रेडफोर्स नेपाल पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) बनेको बताएका छन् । तर निर्वाचन आयोगले सार्वजनिक गरेको १ सय ४३ वटा राजनीतिक दलको सूचिमा नेकपा (जनपक्ष) नामको दल छैन । एकता भएको भनिएको अन्य तीन वटै समूहको नाम पनि निर्वाचन आयोगमा दल दर्ता भएको देखिदैन ।
यसअघि दिनेश बर्तौलाले वैद्यबाट अलग भएर आफ्नै नेतृत्वमा नयाँ जनवादी मोर्चा घोषणा गरेका थिए भने बसन्त बोगटीले नेपाल कम्युनिस्ट पार्टी घोषणा गरेका थिए । बोगटीमा रहेका हरिकृष्ण गजुरेलहरु पुनः अलग भएर छुट्टै पार्टी बनाएका छन् । यता, बर्तौला र बोगटीले २०८२ कार्तिक २९ गते चावहिलमा जम्मा भएर पार्टी एकता घोषणा गरेका थिए । एकतापछि पार्टीको नाम नेकपा (क्रान्तिकारी केन्द्र) रहने बताएका थिए ।
तत्कालिन क्रान्तिकारी माओवादी (हालको क्रान्तिकारी कम्युनिस्ट पार्टी) मा हुँदा पनि विद्यार्थी संगठनमा रहेका बर्तौला लगायतका युवाहरु शैक्षिक संस्थाहरुमा आन्दोलन घोषणा गर्ने निजी विद्यालयहरुबाट चन्दा असुल्ने धन्दा गर्दै आएका थिए ।
अहिले पुनः उनीहरु जनपक्षीय विद्यार्थी युनियनको नाममा शैक्षिक क्षेत्रलाई अस्थिर बनाएर पुरानै धन्दामा लाग्न थालेका छन् । जनपक्षीय विद्यार्थी युनियनको नामबाट पुस ७ गते अकस्मात उपत्यका शैक्षिक हड्ताल घोषणा गरे ।
निजी विद्यालयहरुलाई दिएको धक्कीकै कारण सोमबार अधिकांश निजी विद्यालयले विद्यालय कलेजहरु बन्द गरे । प्याब्सन, एनप्याब्सनलाई पनि सुनिता बुढाथोकी नेतृत्वको समूहले विद्यालय बन्द गराउन धम्की दिएका थिए । तर प्याब्सन, एनप्याब्सले बन्दको औपचारिक निर्णय गरेन । तर चन्दा माग्न आउने डरले निजी विद्यालयहरुले भने विशेष कारण जनाएर विद्यालय बन्द गर्दा स्कुल, कलेज पुगेका विद्यार्थीहरु ढोकाबाटै फर्किन बाध्य भए ।
हाल बर्तौला प्रवक्ता रहेको भनिएको नेकपा (जनपक्ष) जनजिविकासँग सम्बन्धित विभिन्न १६ बुँदे माग पत्र पेस गर्दै माग पुरा नभए आफ्नो पार्टी फागुन २१ को निर्वाचनमा भाग नलिने पनि चेतावनी दिएको छ ।