संसदद्वारा एमसीसी सम्झौता अनुमोदन गरिए यता नेपालमा संयुक्त राज्य अमेरिकाका अवाञ्छनीय गतिविधि ह्वात्तै बढेर गएको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यद्वारा पार्टी केन्द्रीय समितिको बैठकको निर्णयबारे जानकारी दिन विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी सहायक मन्त्रीको तिब्बती शरणार्थी शिबिरहरुमा भ्रमण, अमेरिकी सैन्य जनरलको नेपालमा भ्रमण, नेपालका प्रधानसेनापतिको आसन्न अमेरिका भ्रमण जस्ता परिघटनाले नेपाली राष्ट्रिय स्वाधीनतामाथिको खतरालाई अरु बढाएको वैद्यले जनाएका छन् ।
पार्टी एकताका लागि वार्ता समिति बनाउने
क्रान्तिकारी माओवादीले विभाजित विभिन्न साना कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि वार्ता समिति बनाउने भएको छ ।
हालै काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय समितिको वैठकले माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा, नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद, क्रान्तिमा बलप्रयोगको भूमिका, जनवादी केन्द्रीयता लगायतका मान्यताप्रति सहमत क्रान्तिकारी कम्युनिस्ट पार्टी वा समूहसँग एकता गर्ने निर्णय गरेको हो ।
सरकारले पेस गरेको बजेट जनताका वास्तविक समस्याको संबोधन गर्ने तर्फ नभई निजी अर्थतन्त्रलाई प्रोत्साहित गर्ने, आफ्ना मालिकहरुलाई रिझाउने र निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन जनताका आँखामा छारो हाल्ने उद्देश्यमा आधारित रहेको छ ।
एक वर्षभित्र राष्ट्रिय महाधिवेशन
क्रान्तिकारी माओवादीले आगामी एक वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशन पार्टी एकता महाधिवेशन बनाउने तयारी वैद्य माओवादीले गर्ने जनाएको छ ।
पार्टी कामको गम्भीर समीक्षा गरी नीति, कार्यक्रम तथा कार्यदिशालाई परिमार्जन गर्न एवम् समृद्ध तुल्याउन र संगठनलाई सुदृढ बनाउनका लागि एक वर्षभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीलाई सुदृढ, गतिशील तथा क्रियाशील बनाउन र स्थानीय तहमा विस्तार गर्नका लागि ६ महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने सो पार्टीले जनाएको छ ।
क्रान्तिकारी माओवादीले संयुक्त मोर्चा तथा जनवर्गीय मोर्चाहरुका राष्ट्रिय भेला, विस्तारित बैठक एवम् सम्मेलन गरी तिनलाई क्रियाशील तथा सुदृढ तुल्याउने निर्णय लिएको छ ।
सात प्रदेशको संरचना खारेज, आत्मनिर्णयको अधिकारसहित ११ प्रदेशकाे संरचना निर्माण
क्रान्तिकारी माओवादीले सात प्रदेशको संरचना खारेज गर्ने निर्णय गरेको छ । सात प्रदेशको संरचना खारेज गर्दै आत्मनिर्णयको अधिकारसहित ११ प्रदेशको जातीय संरचना कायम गर्ने निर्णय गरेको छ ।
आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति र जातीय, क्षेत्रीय स्वशासनको आधारमा पहिचान सहितको सङ्घीय जनगणतन्त्रात्मक राज्यसंरचनाको निर्माण गर्ने क्रान्तिकारी माओवादीले जनाएको छ ।
जातीय राज्य संरचनाको मान्यताका आधारमा पहिचान तथा सामथ्र्यको मापदण्डमाथि आवश्यक ध्यान दिँदै विद्यमान सात प्रदेशको संरचनालाई खारेजगरी लिम्बुवान, किरात, तराइ–मधेश, नेवा, तामसालिङ्, तमुवान, मगरात, अवध–भोजपुुरा, थारुवान÷थरुहट, खसान, पश्चिम खसानसहित ११ स्वायत्त प्रदेशहरुको संरचना बनाउने सो पार्टीले निर्णय गरेको छ ।
११ स्वायत्त प्रदेश अन्तर्गत तत्तत् प्रदेशमा विभिन्न विशेष स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्रहरुलाई समावेश गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
११ स्वायत्त प्रदेशको संरचना सम्बन्धी अवधारणाबारे पार्टीभित्र र बाहिर पनि व्यापक अध्ययन तथा छलफल चलाउने र प्राप्त राय सुझावमाथि ध्यान दिई आवश्यक परिमार्जन तथा थपघटसहित महाधिवेशनसम्म अन्तिम निष्कर्षमा पुग्ने निर्णय भएको वैद्यले जनाएका छन् ।
यस्तै, स्थानीय निर्वाचनको प्रक्रिया र मत परिणाम उस्तै चरित्र तथा प्रकृतिका संसदवादी राजनीतिक पार्टीहरुको चक्रीय प्रणाली र चक्रब्यूहसित अभिन्न रुपमा गाँसिएको वैद्य माओवादीको निश्कर्ष छ ।