काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विप्लव र प्रचण्डहरु एउटै लाइनमा अघि बढेको टिप्पणी गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले मंगलबार संवादडबलीमा आयोजना गरेको पत्रकार भेटघाटमा वैद्यले समाजवादबारे प्रचण्ड र विप्लव एउटै लाइनमा अघि बढेको बताए ।
प्रचण्ड र विप्लव दुवैको धारणा शान्तिपूर्ण संक्रमणको यात्रातिर रहेको उनले दाबी गरे ।
प्रचण्ड र विप्लवसँग एकता असम्भव
क्रान्तिकारी माओवादीका महासचिव वैद्यले प्रचण्ड र विप्लवसँग एकता सम्भव नभएको बताए ।
पुरानै व्यवस्था र संविधान स्वीकार गरेर माओवादी केन्द्रसँग एकता नहुने वैद्यले स्पष्ट गरे ।
‘विप्लवजीहरुले समाजवाद जनमत संग्रहबाट आउँछ भन्नु भएको छ,’ वैद्यले भने, ‘प्रचण्डजीहरूले पनि शान्तिपूर्णरूपमा समाजवाद आउँछ भन्नु भएको छ । उहाँहरु एउटै लाइनमा अघि बढेको देखियो ।’
‘प्रचण्डजीले दस्तावेजमा शान्तिपूर्ण राजनीतिमा आएपछि विद्रोहको कुरा गरेर आफूले गल्ति गरेको भन्नु भएको छ,’ उनले भने, ‘प्रचण्डजीले माओवाद नै छाड्नु भएको हो । अदालते माओवादी केन्द्र बिउँताइदिएपछि फेरि माओवादी जोड्नु भाछ ।’
‘उहाँहरू (प्रचण्ड) ले लगातार पूर्वमाओवादीसँग एकीकरण गर्ने भन्नु भएको छ,’ वैद्यले भने, ‘हाम्रो पार्टीसँग एकीकरण सम्भव छैन । पुरानो व्यवस्था र संविधान स्वीकार गरेर एकताको सम्भावना छैन ।’
माओवादी केन्द्रले माओवादसमेत त्यागिसकेको र बाध्यताले अहिले फेरि माओवादी बनेको टिप्पणी उनको छ ।
मोहनविक्रमसँग पनि एकता टाढियो
नेता वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकता टाढिएको बताए ।
‘मोहनविक्रमजीहरुले दीर्घकालिन जनयुद्ध र जनवादी क्रान्तिको कार्यदिशा भन्नु भएकाले उहाँहरुसँग नजिक हो,’ वैद्यले भने, ‘उहाँहरु अहिले पाँच दलीय सत्ता गठबन्धनमा हुनुहुन्छ । दुईतिर खुट्टा राख्नु भएकाले उहाँहरुसँग पनि एकता सम्भव भएन ।’
वैद्यले क्रान्तिकारीहरुबीच ध्रुवीकरणहरू हुन सक्ने बताए ।
चुनाव उपयोग गर्ने संकेत
नेकपा क्रान्तिकारी माओवादी महासचिव वैद्यले आगामी चुनाव उपयोग गर्न सक्ने संकेत गरेका छन् ।
आउँदो चुनाव उपयोग गर्ने वा बहिष्कार गर्ने भन्नेबारे परिस्थिति हेरेर निर्णय लिने उनको भनाइ छ ।
‘परिस्थितिको विश्लेषण गरेर उपयोग गर्ने वा बहिष्कार गर्ने पनि हुन सक्छ,’ उनले भने, ‘हामीले कुनै बेला बहिष्कार पनि गर्दै आएका छौं, कुनै बेला उपयोग गर्दै आएका छौं ।’ निर्वाचनबार आगामी केन्द्रीय समिति बैठक बसेर निर्णय लिइने बैद्यले बताए ।