Media Network

विवेकशील साझा पार्टीबाट अलग भइन् रञ्जु दर्शना


खबरस्टोरी संवाददाता

८ पुष २०७८,बिहीबार

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रको संस्थापन पक्षले कारबाही गरेपछि युवा नेतृ रञ्जु दर्शनाले पनि विवेकशील साझा पार्टी छाडेकी छन् । 

तीन दिनअघि मात्रै मिश्रले पाण्डेलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । आफूलाई नेपाली युवाा नामबाट दुई पृष्ठ लामो पत्र लेख्दै दर्शनाले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् । 

मिश्रले विचार भन्दामाथि देश शीर्षकमा संघीयताको विरोध र हिन्दु राज्यको वकालत गर्दै राजनीतिक एजेण्डा सार्वजनिक गरेपछि विवेकशील पार्टीमा द्वन्द्व सिर्जना भएको थियो । 

दर्शनाले मिश्रको दस्तावेजको ब्यङग्य गर्दै विवेकशील पार्टीभन्दा माथि देश शीर्षकमा पत्र लेखेर आफू पार्टीबाट अलग भएको उल्लेख गरेकी छन् । 

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको अपिलमा भनिएको छ ।

दर्शनाले आफूहरुले बलियो जग हालेको भए पनि तल्ला थप्दा कमजोर बनेको उल्लेख गर्दै कमजोर संरचनामा नबस्न पनि सबैलाई आह्वान गरेकी छन् । 

तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा रहने जानकारी दिएकी छन् । 

‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन ।’– रञ्जुले सामाजिक सञ्जालमा लेखेकी छन् ।  

दर्शना तत्कालिन विवेकशील पार्टीबाट गएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद