Media Network

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । 

स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले राजीनामा दिएका हुन् ।निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ’ स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।’

उनले भनेका छन्, ’हाम्रा उम्मेदवारहरू ’इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।’

विवेकशीलले काठमाडौं र भरतपुरसहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद