काठमाडौं । फागुनका लागि तय भएको प्रतिनिधिसभाको चुनावमा १२ वटा साना दलले संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका ११४ दलमध्ये १२ दलले गठबन्धन बनाएर चुनावमा जाने तयारी गरेका हुन् ।
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्रिय जनजागृती पार्टी एउटै चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । उनीहरूको चुनाव चिह्न बस रहेको छ । नेपाल संघीय समाजवादी पूर्वराज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको दल हो ।
हरिनन्दन कुमार अम्बेडकर नेतृत्वमा बहुजन एकता पार्टी नेपाल छ । नेपाल जनजागृति पार्टीको नेतृत्वमा धपलालप्रसाद सहनी छन् । यी तीन पार्टीहरू संघीय गणतान्त्रिक गठबन्धन बनाएर निर्वाचन लड्दैछन् ।
यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । उनीहरूको चुनाव चिह्न जाँतो छ । राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष राजेन्द्र महतो हुन् । अशोक कुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी छ । नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षमा कबिर सोप रहेका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमनकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल पनि एकल चुनावमा निर्वाचनमा भाग लिँदैछ । अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् ।
पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टी पनि एकल चुनाव चिह्नमा चुनाव लड्ने तयारीमा छन् ।