कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च गरिएकाले आफूहरू बीचमै हिँडेको मेयर बालेन शाहले बताएका थिए ।
स्थानीय जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा एक दिन मात्र बसेर फर्केका मेयर शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं राजधानी मात्रै होइन, अझ बागमती प्रदेशका लागि त एउटा पालिका मात्रै हो। काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ÷कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छाडेको हुँ।’
कसले गाली गर्यो काठमाडौंवासीलाई
आखिर कसले के भनेर गाली गरे त काठमाडौ र काठमाडौबासीलाई जसको कारण बैठक चल्दा चल्दै बीचमै छाडेर हिँडे बालेन ?
उनीहरू त्यस्तो कसले के भनेका थिए जुन सहन नसकेर मेयर शाह र उपमेयर सुनिता डंगोल सोमबारै काठमाडौं फर्किए?स्रोतका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको विषयवस्तुभन्दा बाहिर गएर काठमाडौंको फोहोरमैला उठ्न नसेककोबारे स्थानीय सरकारलाई आरोप लगाएका थिए।
‘जुन विषयवस्तु निम्ति कार्यक्रम आयोजना गरिएको हो त्यहाँ त्यसँ खालको कार्यक्रम नै रहेनछ् आरोप र गाली मात्र पोख्ने कार्यक्रम भएपछि मेयर र उपमेयर बीचमै फर्किएका हुन् । स्रोतले बताए ।
कार्यक्रममा १३ जिल्लाका स्थानीय तहहरूका प्रमुख र उपप्रमुख सहभागी भएको उक्त कार्यक्रममा काठमाडौ महानगरलाई मात्र पोइन्ट गरेपछि माहौल एकास्सी गरम बनेको थियो ।
मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री शालिकराम जमकट्टेलले काठमाडौंको फोहोरमैलाको विषयमा मात्र आरोप लगाएका थिए ।मुख्यमन्त्री पाण्डेले काठमाडौं महानगरले आफ्नो फोहोर आफैं व्यवस्था गर्नुपर्ने भन्दै फोहोर बञ्चरेडाँडामा फालेर धादिङ र नुवाकोटका जनतालाई दुख दिन नहुने बताएका थिए ।
यता बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन्। सोमबार बेलुकी मेयर शाहले फेसबुकमा स्ट्याटस राख्दै ’बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लागेको’ बताएका छन् ।