काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद भएर शिक्षामन्त्रीसमेत भएकी सुमना श्रेष्ठ अहिले यता न उताकी भएकी छन् ।
जेनजी आन्दोलनपछि विभिन्न जेनजी समूहमा संलग्न भएर परामर्श दिँदै आएकी उनी त्यहीबेला रास्वपा सभापति रवि लामिछानेलाई दोष देखाउँदै पार्टी छाडेकी थिइन् । जेनजी आन्दोलनपछि एकाएक सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिँदै गर्दा सहभागी भएकी उनी नयाँ बैकल्पिक शक्ति बनाउन लागिपरेकी थिइन् ।
वर्तमान सरकारको मन्त्री समेत रहेका कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रममा समेत सोही पार्टीको टोपी लगाएर शुभकामना दिन पुगेकी उनी बालेन समूहमा रहेको बताइए पनि रास्वपासँगको एकतामा गएकी छैनन् भने कुलमानसँगको एकताबाट पनि बहिर परेकी छन् ।
तर उनी अहिले आफ्नो आलोचना भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो चिन्ता नलिन अपिल गरेकी छन् ।
उनले आफ्ना आलोचकहरुलाई आफ्नो राजनीतिक चिन्ताभन्दा पार्टीभित्रको लोकतान्त्रिक मूल्यमान्यता जोगाउने चिन्ता गर्न आग्रह गरेकी छन् । जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म भएको भन्दै उनले केही नियोजित गाली बाहेक सबै चासो, चिन्ता र आलोचनामा माया देखेको बताएकी छन् ।
उनले आफू व्यक्तिगत अवसर खोज्दै विगतमा पनि रास्वपामा संलग्न नभएको बताएकी छन् । ‘रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेण्डा छैन मेरो ।’– उनले भनेकी छन् । उनले नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने वातावरण मिलोस् भन्दै शुभकामना समेत दिएकी छन् ।