Media Network

एनआरएनए विवादः आकांक्षी मिले, शेष घले मिलेनन्


नारायण पंगेनी

८ चैत्र २०७८,मंगलवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद सहमति नजिक पुग्दा पूर्व अध्यक्ष तथा संस्थापक शेष घले विभाजित बनेका छन् । 

एनआरएनएको दशौं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम जारी रहेकैबेला उम्मेदवार मनोनयनको अन्तिम दिन फाल्गुन २६ गते घले पक्षले सोनु लामा संयोजक रहेको महाधिवेशन मुल आयोजक समिति गठन गरेको घोषणा गरेका थिए । 

घले पक्षमा रहेका भनिएका अध्यक्षका आकांक्षी कुल आचार्यले पनि विवादका कारण उम्मेदवार मनोनयन दर्ता बहिष्कार गरेका थिए । तर घले पक्षले तय गरेको विश्व सम्मेलन शनिवार शुरु हुनुअघि नै आचार्यसहित उम्मेदवार मनोनयन दर्ता गराएका बद्री केसी र रबिना थापाबीच त्रिपक्षीय सहमति बन्यो । 

घले पक्षका भनिएका आचार्यसहितको सहमति भएपछि एनआरएनएको विवाद सल्टिएको विश्वास गरिए पनि घलेले भने मंगलबार काठमाडौंमा एनआरएनएको १० औं विश्व सम्मेलन आयोजना गरी संगठनलाई विभाजनको प्रक्रियामा अघि बढाएका छन् ।  

सोमवार रातीको त्रिपक्षीय छलफलमा दुई जना अध्यक्ष रहने सहमति जुटेको थियो । जसअनुसार, कुल आचार्य र बद्री केसीलाई अध्यक्ष निर्वाचित गर्ने र रबिनालाई सम्मानजनक पद दिने निश्कर्ष निकालिएको थियो । उक्त सहमतिअनुसार निर्वाचनपछि दशौं विश्व सम्मेलन आयोजना गरी विधान संशोधन गरिनेछ ।  

यस्तो प्रस्तावमा रबिनासमेत सहमत भएपछि एनआरएनको विवाद समाधान भएको र संगठन फुटबाट जोगिएको बताइए पनि शेष घलेले भने मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छुट्टै विश्व सम्मेलन आयोजना गरेका छन् । 

एनआरएनएमा प्रतिनिधि छनोटमा विवाद हुँदा ६ महिनाअघि गत अक्टोबरमा हुनुपर्ने महाधिवेशन रोकिँदै आएको थियो । विवाद समाधान गर्न भन्दै अध्यक्ष कुमार पन्तले घलेकै अध्यक्षतामा उच्चस्तरीय विवाद समाधान समिति गठन गरेका थिए । तर घले संयोजकत्वको समितिले समाधान निकाल्न नसकेपछि निर्वाचन कार्यक्रम अघि बढाइएको पन्त बताउँछन् ।  

विवाद समाधान भएको भन्दै प्रमुख अतिथि बनाइएका अर्थमन्त्री जनार्दन शर्मा पनि कार्यक्रममा आएपछि आश्चार्यमा परे । उनले नेपालका राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको भन्दै असन्तुष्टी ब्यक्त गरे । उनले विधान मिचेर काम नगर्न आग्रह गर्दै सबै एक भएर काम गर्न सुझाव दिए । यद्यपी अर्थमन्त्री शर्माले घलेको प्रशंसा समेत गरे । 

मुलुकको विकासका लागि गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री शर्माले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको सिप र पुँजी नेपाल भित्र्याउन आग्रह गरे । 

गैरआवासीय नेपालीहरुले नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै मन्त्री शर्माले सबैलाई खाता खोल्न आग्रहसमेत गरे ।

कार्यक्रममा घले पक्षका विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक लामाले विधान र विधिविपरीत कुनै काम हुन नदिने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद