मध्यपूर्वका नेपालीको सहयोगमा एक करोडको राहत कोष स्थापना


खबरस्टोरी संवाददाता
४ चैत्र २०८२, बुधबार
मध्यपूर्वका नेपालीको सहयोगमा एक करोडको राहत कोष स्थापना

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने भएको छ । 

१२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको चैत ४ गतेको बैठकमा संघका अध्यक्ष डा. हेमराज शर्माले यस्तो जानकारी दिएका हुन् । सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि उनले बताए । शर्माका अनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्युनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गरिनेछ । हाल संघमा करिव एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

एनआरएनएका पदाधिकारीहरु राजनीतिक दलमा आवद्ध नहुने

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् । १२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको पहिलो बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।  अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । 

एनआरएनको पदाधिकारीले संघमा आवद्ध रहुन्जेल कुनै पनि राजनीतिक दल वा दलको भ्रातृ संगठनको पदाधिकारी बन्न नपाइने र सामाजिक सञ्जालमार्फत कुनैपनि राजनीतिक  दललाई गाली गलौज, व्यक्तिगत चरित्र  हत्या गर्ने कार्य नगर्ने भनेर प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको शर्माले बताए । अहिले राजनीतिक दलमा आवद्ध साथिहरुले समेत राजीनामा दिनेगरी प्रतिवद्धता गरेको पनि उनले स्पष्ट गरेका छन् ।