Media Network

नेपालीलाई ‘भुटानी शरणार्थी’ बनाउने खेल


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौँ । भुटानी शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउन संगठित गिरोहले १ हजार १७ जना गैरशरणार्थी युवाको विवरण गृह मन्त्रालयमा बुझाएको पाइएको छ । गिरोहले राजनीतिक दलका नेता, प्रशासक र बिचौलियाको मिलेमतोमा सूची तयार गरेर बुझाएको गृहका एक उच्च अधिकारीले बताए । गैरशरणार्थी नेपाली युवाको सूची भने सार्वजनिक गरिएको छैन । 

गिरोहले युवालाई शरणार्थी बनाएर अमेरिका लैजाने ‘ग्यारेन्टी’ सहित जनही न्यूनतम २० लाख रुपैयाँ उठाएर सूची तयार पारेको हो । शरणार्थीको आवरणमा अमेरिका पठाइदिने खेलमा गिरोहले सयौं युवाबाट १० करोड रुपैयाँभन्दा बढी रकम उठाएको उजुरी परेपछि छानबिन चलिरहँदा पनि गिरोहले परिचयपत्र दिलाउन चलखेल गरिरहेको स्रोतलाई उल्लेख गर्दै कान्तिपुर दैनिकले खबर छापेको छ । 

ठगीका विषयमा अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म गिरोहका कसैलाई पनि पक्राउ गरेको छैन । 

गिरोहले युवालाई काठमाडौंका विभिन्न स्थानमा बोलाएर फोटो खिचाउँदै किस्ता–किस्तामा प्रतिव्यक्ति २० लाखदेखि ४३ लाखसम्म असुलेको केही पीडितको भनाइ छ । गिरोहले १ हजार १७ जनाबाट २० लाखका दरले रकम उठाउँदा पनि २ अर्बभन्दा बढी संकलन हुन्छ ।

झापा र मोरङमा रहेका भुटानी शरणार्थीको तेस्रो देश पुनर्बसोबास कार्यक्रमअन्तर्गत सन् २००६ देखि २०१६ सम्म करिब १ लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, क्यानडा, बेलायत, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रेलियालगायत देश गएका थिए । पुनर्बसोबास अस्वीकार गरेका र आन्तरिक कारण देखाएर तेस्रो देश नगएका ६ हजार ३ सय ६५ शरणार्थी अझै मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद