काठमाडौँ । साउदी अरबबाट डिपोर्ट भएका तीन जना शंकास्पद ब्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको छ ।
साउदीस्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट बनाएर पठाएका तीन जनालाई मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन प्रशासनले नियन्त्रणमा लिएको हो ।
यसरी फर्काइएका तीनै जना नेपाली नागरिक भएको खुल्ने प्रमाण नदेखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो र यस विषयमा अनुसन्धान जारी भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
मंगलबार साउदी अरबले डिपोर्ट गरेका तीन जना– कलमाया तामाङ, इन्द्रमाया लिम्बू र सानुमाया तामाङका नाममा नेपाली राजदूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर नेपाल आएका थिए । तर उनीहरू नेपाली भाषासमेत बोल्न नसक्ने र राष्ट्रियता खुल्ने कागजातसमेत नभेटिएपछि विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो ।
तीनै जना विगतमा गिरोहमार्फत नेपाली नागरिकका रूपमा फर्जी डकुमेन्ट बनाएर साउदी पुगेको अनुसन्धान अधिकृतहरूको आशंका छ ।