Media Network

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुसँगको अन्तर्क्रिरया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तालिमलाई कडाइ गरिने बताएका हुन् । मन्त्री श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारवाही गरिने पनि उल्लेख गरे ।  

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ । 

मन्त्री श्रेष्ठले सेवाग्राहीहरुलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमुलक हुने भएकोले पूर्व प्रस्थान अभिमुखिकरण तालिमलाई प्रभावकारी र समयानुकुल बनाइने बताए । अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सिमित गर्न नहुने बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन बिषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने सचिव अर्यालले बताए । 

मन्त्रालयका सल्लाहकार डा. केशव बस्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिममा गन्तब्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए । उनले पूर्व प्रस्थान अभिमुखिकरण तालिम अहिले प्रभावकारी हुन नसकेको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद