एसईई दिएर बसेका विद्यार्थीलाई साइबर अपराधमा नफस्न प्रहरी उपरीक्षक मैनालीको अनुरोध


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
एसईई दिएर बसेका विद्यार्थीलाई साइबर अपराधमा नफस्न प्रहरी उपरीक्षक मैनालीको अनुरोध
काठमाडौं । काठमाडौंका महानगरीय प्रहरी परिसर उपरीक्षक दिनेश राज मैनालीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई साइबर अपराधका कुनै पनि क्रियाकलापमा संलग्न नहुन आग्रह गरेका छन् । आफ्नो फेसबुकमा सन्देश मूलक स्टाटस पोस्ट गर्दै उनले विद्यार्थीहरूलाई साइबर अपराधबाट बच्न र आफू पनि संलग्न नहुन अनुरोध गरेका हुन् ।

मैनालीले आफ्नो पोस्ट मार्फत सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप लगायतका पेज र वेबसाइटहरू प्रयोग गर्दा समेत ध्यान पुर्‍याउनु आग्रह गरेका छन् ।

साथै आफ्ना साथीहरूलाई सामाजिक सञ्जालमा छेडखानी ‘साइबर बुलिङ’ गर्ने, हैरानी गर्ने, अरुको गोपनीयता भङ्ग गर्ने, सोसल साइट ह्याक गर्ने, अनधिकृत तवरले अरुको वेब साइटलाई ह्याक गर्ने, बिभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धन सम्पत्तिको बर्वादी गर्ने जस्ता कार्यबाट पनि टाढै रहन आग्रह गरेका छन् ।

यदि यस्ता साइबर अपराधको कसूरमा परेमा पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकोले आफू जोगाई अरुलाई जोगाउनु नै बुद्धिमतापूर्ण हुने उनले बताएका छन्