Media Network

आज आमाको मुख हेर्ने पर्व ‘आमाऔंशी’ मनाइँदै


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आमाऔंशी शनिवार आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । 

आमाऔंशीका दिन आमालाई भेट गर्न असमर्थ हुनेहरुले समाजिक सञ्जालबाट आमाको तस्विर राखेर आमालाई सम्झिएका छन् भने आमा नहुनेहरुले नदी वा कुण्डहरुमा गई तर्पण वा पिण्ड दिने गर्दछन् । 

छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । 

उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।  

 वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । 

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । 

वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । 

आमा औंशीका दिन काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद