Media Network

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म रुसी तेलको आयात ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७.९३ डलर पुगेको छ ।

त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार सोमबार खुल्दा २.२४ डलरले बढेर ११७.३१ डलर पुगेको छ ।

यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो । यद्यपि रुसी तेलमा निर्भर हङ्गेरीले रुसी तेलमा प्रतिबन्ध लगाउन आनाकानी गरिरहेको थियो  ।

हंगेरीको चासोलाई सम्बोधन गर्दै युरोपेली युनियनले वर्षको अन्त्यसम्म ९० प्रतिशत रुसी तेलको आयातमा कटौती गर्ने निर्णय गरेको जनाइएको छ ।

यसअघि युरोपेली युनियनका प्रायः सबै मुलुकहरु रुसी तेलमाथि प्रतिबन्धको पक्षमा रहेकाले यसअघि नै बजारमा मूल्य स्वभाविक रुपमा नै बढि रहेको एसपीआई एसेट म्यानेजमेन्टका म्यानेजिङ पार्टनर स्टेफन इन्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद