बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै
काठमाडौँ। अविरल वर्षका कारण बाढीले प्रभावित बनेको निजगढको जनजीवन भने सामान्य बनेको छ । वर्षा रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।

अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय जलमग्न भएको थियो । 

बाढीले निकास नपाउँदा वस्ती डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । 

प्रहरी कार्यालयको मूलगेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर भवनको पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्री बगाएको हो । 

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो ।