Media Network

भक्तपुरको बिस्केट जात्रा आजबाट सुरु


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबारदेखि सुरु हुँदैछ । भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ । रथलाई आज साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा सुरु हुन्छ । 

भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर डोरीको माध्यमले रथलाई तानतान गरिन्छ । करिब ३५ फिट अग्लो तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट निर्माण गरिएको रथलाई सयौं युवाले तान्ने प्रचलन छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।

पहिलो दिन भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लगिन्छ । 

यसबाहेक जात्राको मुख्य आकर्षण लिंगो उठाउनु र ढाल्नु पनि हो । वर्षको अन्तिम दिन उठाउने लिंगो नयाँवर्षको पहिलो दिन वैशाख १ गते ढाल्ने गरिन्छ ।

ठूलो र भब्य रुपमा मनाइने विस्केटमा कुनै पनि घटना हुन नदिन भन्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद