Media Network

एकै वर्षमा ५० प्रतिशतले बढ्यो गाडीभाडा


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा ५० प्रतिशत बढी मूल्यवृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वहानामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागले पटकपटक भाडा वृद्धि गर्दा सर्वसाधारण भने मारमा परेका छन् । गत असार अन्तिममा सरकारले २८ प्रतिशतसम्म सवारीसाधनको भाडा वृद्धि गरेको थियो ।

सरकारले चैत तेस्रो साता पुनः दोस्रोपटक १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाएको थियो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेकोमा चैतमा पुनः १५ प्रतिशतसम्म वृद्धि भएको थियो । विभागले गत चैत अन्तिममा सार्वजनिक गरेको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो ।

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पछिल्लोपटक एक सातामा नै दोस्रोपटक भाडा वृद्धि गरेको हो । सरकारले स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सवारीसाधनको पनि भाडा वृद्धि गरिएको जनाएको छ । पछिल्लोपटक यात्रुवाहक सवारीसाधनमा २ दशमलव १ प्रतिशत भाडा बढाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद